आयुक्तको हैसियतमा शानका साथ अख्तियार जानेका गरेका पाठक अब बयान दिन जाने

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरको स्वामित्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ।

सो घुस प्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पाठकलाई आयोगका सहसचिव नेतृत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले बयानका लागि टंगालस्थित कार्यालयमै बोलाउने तयारी गरेको हो। पाठकमाथि उक्त कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको आरोप छ।

इन्जिनियरिङ कलेज घुस प्रकरण अनुसन्धान टोलीमा सहसचिव, उपसचिव र नेपाल प्रहरीका डिएसपी छन्। पाठकले कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै बिचौलियामार्फत घुस लिएको पुष्टि भएपछि फागुन ३ गते आयुक्त पदबाट राजीनामा दिएका थिए। घुससम्बन्धी अडियो टेप सार्वजनिक भएपछि पाठकमाथि महाभियोग लगाउन सांसदबीच छलफल चलेकै अवस्थामा उनको राजीनामा आएको थियो। राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ।

अनुसन्धान टोलीले यो घुस प्रकरणमा जोडिएका बिचौलिया ज्ञानेन्द्र झासँगको बयान मंगलबार सकेको छ। उनको बयानपछि आरोपित अन्यलाई पनि झिकाउने तयारी भएको स्रोतले बतायो। ‘घुस प्रकरणमा बिचौलियाको भूमिका खेलेका झासँगको बयान सकिएको छ, अब छिट्टै पाठक र कलेज सञ्चालकलाई बयानमा बोलाउने तयारी छ,’ स्रोतले भन्यो, ‘झासँगको बयानले अनुसन्धानलाई अझ गति दिएको छ।’ स्रोतका अनुसार कलेज सञ्चालकसँग बयान लिइसकेपछि पाठकलाई झिकाउने तयारी छ। प्रमुख आयुक्त नवीन घिमिरेले इन्जिनियरिङ कलेज घुस प्रकरणको सत्यतथ्य छिटो केलाउन अनुसन्धान टोलीलाई निर्देशन दिएका छन्।
नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement