असफल सामाजिक सञ्जाल गुगल प्लस बन्द

Advertisement

एजेन्सी । संसारको दोस्रो सबैभन्दा मुल्यवान ब्रान्डको सामजिक सञ्जाल गुगल प्लस मङ्गलबार बिहानदेखि बन्द गरिएको छ ।

सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको गुगल प्लस सार्वजनिक गरिएको केही हप्तामै यसमा लाखौं प्रयोगकर्ताहरू जोडिएका थिए। तर तीमध्ये एकदमै कम प्रयोगकर्ताले मात्रै यसलाई प्रयोग गरे का थिए ।

अन्य सामाजिक सञ्जालमा जस्तै लेख्न र तस्बिरहरू सेअर गर्न मिल्ने सुविधा भएकाले यसलाई गुगलले ‘सामाजिक तह’ को रूपमा परिभाषित गरेको थियो । साथीहरूलाई 'सर्कल'को आधारमा समूह विभाजन गर्न मिल्ने र 'ह्याङ्गआउट' भनिने समूहगत भिडिओ कल गर्न मिल्ने यसका मुख्य सुविधाहरू थिए।

असफलताको कारण
'गुगल प्लस पहिलो दिनदेखि नै असफल हुने खालको थियो'; सामाजिक सञ्जाल सल्लाहकार म्याट नाभारा भन्छन्।
'यसको अनुहार, फेसबुक चर्चित भइसकेको अवस्थामा यसको आगमन, बुझ्न गार्हो अनुभव र गुगलभित्रै यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेको असहमतिले यसलाई असर गर्यो।'

गुगल प्लसमा उपनाम प्रयोग गर्न नपाइने कडा नीति थियो र कसैले आफ्नो नाम प्रयोग नगरेमा जीमेल समेत निलम्बन हुने व्यवस्था थियो। गुगलले यसलाई सफल बनाउन सन् २०१३ मा यसलाई युट्युबसँग जोड्यो र युट्युबको भिडिओमा प्रतिक्रिया लेख्न गुगल प्लस खाता अनिवार्य बनायो। गुगल प्लेस्टोरमा मोबाइल एपहरूमा प्रतिक्रिया व्यक्त गर्न पनि गुगल प्लस खाता अनिवार्य थियो।

गुगल प्लसको अवसान
एप्रिल २०१४ मा गुगल प्लसका संस्थापक भिक गुन्ठोत्राले गुगल छोडे। त्यसपछि गुगल प्लसका सफल सुविधाहरू ह्याङ्गआउट र फोटोज छुट्टै प्रयोग गर्न मिल्नेगरी बनाइयो ।प्लेस्टोर र युट्युबबाट पनि यसलाई बिस्तारै छुट्टाइयो र त्यसपछि गुगलले सन् २०१८ मा यसका तथ्याङ्क चोरी भएको सार्वजनिक भएपछि यसलाई बन्द गर्ने निर्णय गरेको थियो।

Advertisement

Advertisement

Advertisement