सगरमाथाको उचाइ घटेको ओलीले पत्याएनन्

Advertisement

काठमाडौं । चार वर्ष अघिको विनाशकारी भूकम्पले विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ घटेको हो ? या होईन भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अन्योलमा छन् । बुधवार विहान सगरमाथाको उचाइ मापन गर्न जाने सरकारी टोलीलाई बिदाइ गर्ने क्रममा प्रधानमन्त्रीले आफूलाई भने उचाई घटेको कुरा पत्यार नलागेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारबाट नापी विभागको टोली विदाइ गर्दै उनले भने– ‘भूकम्पले सगरमाथाको उचाइ घटेको भन्ने छ । तर मलाई भरपर्दो लागेन । केही समयअघि ८ हजार८५० मिटर पुग्यो भन्ने पनि आयो । त्यही आसपासमा होला, घटेको नहुनुपर्नें हो ।’

प्रधानमन्त्री ओलीले विदेशीहरुले विभिन्न समयमा फरक–फरक उचाइ पेश गरे पनि आफूलाई भने विश्वास नलागेको बताउँदै विश्वको सर्वोच्च शिखर र नेपालको गौरव भएकाले यथार्थ उचाइ सार्वजनिक गरिने बताए ।

ओलीले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी सगरमाथाको उचाइ नाप्न टोलीलाई निर्देशन दिएका छन् । उनले सगरमाथाको टुप्पोमा स्केल राखेर एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्न आग्रह गर्दै टोलीलाई स्वास्थ्यको पनि ख्याल गर्न तथा बलजफ्ति कार्य नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले मौसमले साथ नदिएमा वा स्वास्थ्यमा खराबी आउँदा आउँदै सगरमाथा आरोहण नगर्न सुझाव समेत दिए । उनले अनुभवी गाइडहरुले दिएको निर्देशनअनुसार चल्न सरकारी आरोहण टोलीलाई सुझाव दिए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने टोलीलाई दिइएको कार्यादेशबारे जानकारी गराएकी थिइन् । सगरमाथाको उचाइ नाप्ने टोलीमा नापी विभागका प्रमुख खिमलाल गौतम, रविन कार्की, सुरज सिंह भण्डारी र युवराज धिताल रहेका छन् ।

Advertisement

Advertisement