अब ग्यास सिलिण्डरको पाइप बेच्नेले नेपाल गुणस्तर चिह्न अनिवार्य लिनुपर्ने

Advertisement

काठमाडौँ । सरकारले नेपाल गुणस्तर चिह्न लिन बाध्य हुने सामग्रीमा ग्यास चुल्होबाट सिलिण्डरसम्मको पाइप थप गर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल नियन्त्रण विभागले अहिले ११ वस्तुलाई गुणस्तर चिह्न लिन बाध्य गरेकामा यो समेत गरेर १२ सामग्री गुणस्तर चिह्न लिन बाध्यकारी हुनेछन् ।

यस्ता पाइपको विदेशबाट आयात गर्न वा बजारमा बिक्रीवितरण गर्नका लागि अनिवार्यरुपमा गुणस्तर चिह्न लिनुपर्ने व्यवस्था गरिएको विभागका निर्देशक दीपक ज्ञवालीले बताए । यसअघि ग्यासको रेगुलेटर र सिलिण्डरलाई गुणस्तर चिह्न अनिवार्य गरेको थियो । उनले भने, “सिलिण्डरबाट चुल्होसम्म पुग्न प्रयोग हुने सबै सामग्री सुरक्षित हुनुपर्ने भएकाले पाइपमा पनि चिह्न अनिवार्य गरिएको हो ।”

स्वास्थ्य र सुरक्षामा खतरा पुग्नसक्ने वस्तुको बिक्रीवितरण गर्दा गुणस्तर चिह्न लिनु बाध्यकारी रहेको ज्ञवालीले बताए । ग्यास सिलिण्डर र त्यससँग सम्बन्धित सामग्री सुरक्षाका हिसाबले पनि महत्वपूर्ण हुने उनले बताए । “ग्यासमा प्रयोग हुने सामग्री सुरक्षित छन् भन्ने प्रमाणित नहुँदा जुनसुकै समयमा दुर्घटना हुनसक्छ”, ज्ञवालीले भने ।

सरकारले गुणस्तर चिह्न लिन अनिवार्य गरेका सामग्रीमा तीन किसिमका सिमेन्ट, डन्डी, एलपिजी भल्भ, ड्राइसेल ब्याट्री, जिआइ तार, सिलिण्डर र रेगुलेटर रहेका छन् । विभागको सँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि कुनै पनि वस्तु गुणस्तर चिह्न लिनैपर्ने (बाध्यकारी) वस्तुमा पर्छ । सरकारले अनिवार्य गरेका सामग्रीबाहेक पनि व्यवसायीले स्वेच्छिकरुपमा गुणस्तर चिह्न लिन पाउँछन् ।

Advertisement

Advertisement