भाषण गर्नु र सपना देख्नु नराम्रो होईन, सरकार काफी मात्रामा सफल भएको छः रायमाझी

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले विकास र समृद्धिको हकमा पहिलो वर्ष जग हाल्ने काम गरेको र आगामी दिनमा जनताले अनुभुति गर्नेगरि विकास गर्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले भने, ‘जनताका अपेक्षाहरु धेरै छन् । सरकारले काम गरिरहेको छ । यो सरकार पूरानो संरचनाको सरकार होईन । सरकारले राष्ट्र निर्माणको ठूलो बहस छेडेको छ । भाषण र सपना देख्नु नराम्रो होईन । यो त बुझाउने कुरा हो । यो त अभ्यास पनि हो । यो अर्थमा सरकार काफी मात्रामा सफल भएको छ ।’

नेता रायमाझीले वर्तमान सरकारले हिजोसम्म व्याप्त रहेका माफीयागिरी, अपराधिक घट्नाक्रमहरुको पर्दाफास भएको जिकिर गरे । उनले भने, ‘यी सबै गलत कुरालाई सतहमा ल्याउन वर्तमान सरकार सफल भएको छ । हिजोसम्म यी विषयहरुमा ढाकछोप गर्ने काम भएका थिए । तर, यो सरकारले अहिले सतहमा ल्याएको छ । अब जनताको चाहनाबमोजिम कारबाही हुन्छ । सरकारले उपचार गर्छ ।’

सरकार असफल भयो भन्ने कुरामा आफूले विश्वास नगर्ने रायमाझीको दाबी छ । उनले भने, ‘सरकारले योजना, बजेट र अधिकार संविधानअनुसार नै बाँडफाँड गरिरहेको छ । ती तहका सरकारहरु छन्, अब जनतालाई रिजल्ट दिनेगरि काम गर्छन् ।’

वर्तमान सरकारले विकास र समृद्धिको रोडम्याप अघि सारेकोले सो लक्ष्य छिट्टै पूरा हुने रायमाझीको दाबी छ । उनले भने, ‘सरकारको मुल्यांकन त अब नयाँ बजेट ल्याएपछि सुरु हुन्छ । अब समृद्धिको पाईला कसरी चाल्छ ? त्यो हेर्न बाँकी छ । अनिमात्रै, सरकारको मुल्यांकन यो आर्थिक वर्षको अन्तिमबाट सुरु हुन्छ ।’

नेता रायमाझीले प्रधानमन्त्री केपी ओलीको विकल्प अहिले तत्काल नखोजिएको जिकिर गरे । उनले भने, ‘तत्कालै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन् । प्रधानमन्त्री ओलीको अहिले विकल्प कोही छैन् । यो सरकार ढाल्ने र अर्को बनाउने भन्ने अहिले कुनै सोच वा गृहकार्य भएको छैन् ।’

Advertisement

Advertisement