खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेर भाग्दै गरेका श्रीमान् पक्राउ

Advertisement

ललितपुर । गोदावरी नगरपालिका–१ बिशंखुनारायणको इँटा भट्टामा काम गर्ने ४२ वर्षीया जयबहादुर वाइवाले श्रीमतीको हत्या गरेका छन् । उनले ४१ वर्षीया श्रीमती सुनमाया वाइवालाई मंगलबार बिहान खुर्पाले हानेर टाउको छिनाएर हत्या गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार घटना मंगलबार बिहान करिब ५ः३० बजे तिर भएको हो। घट्नाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेका थिए।

मिश्रका अनुसार घर छेउको खोल्सामा भाग्दै गरेको अवस्थामा वाइवालाई पक्राउ गरेको हो। वाइवा सिन्धुली घर भइ हाल ललितपुरको इँटा भट्टामा काम गर्दै आएका थिए।सुनमाया वाइवा पनि सोही भट्टाको छाप्रोमा बस्दै आएका थिइन्।जेठी श्रीमती पोइल गएपछि वाइवाले कान्छी श्रीमती सुनामायालाई भित्र्याएको डीएसपी मिश्रले जानकारी दिए।

उनीहरूका ५ र २ वर्षका दुईवटा नानी छन्। प्रहरीलाई दिएको बयानअनुसार वाइवाले श्रीमतीसँग मनमुटाव भएपछि रिस थाम्न नसकेर श्रीमतीको घाँटीमा खुर्पाले हानेर छिनाएका हुन्। सुनमायाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ भने वाइवा सातदोबाटो प्रहरी वृत्तमा छन्।

Advertisement

Advertisement

Advertisement