उदयपुरको त्रियुगा नगरपालिकाको विषयगत समितिमा जिम्मेबारी हेरफेर

Advertisement

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको कार्यपालिकाको ३७ औं बैठकले विषयगत समितिको जिम्मेबारी हेरफेर गरेको छ । बैठक संचालन कार्यविधि २०७४ अनुसार गठन भएका विषयगत समितिहरु विघठन गर्दै बहुमतले केही जिम्मेबारी हेरफेर गरेको छ ।

त्रियुगा नगरपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता केदार कुमार दनुवारका अनुसार ३७ औं बैठकले सार्वजनिक तथा क्षमता विकास समितिको संयोजकमा पशुपति चौधरीलाई जिम्मेबारी दिईएको छ । यसअघि प्रकाश खड्काको संयोजकत्वमा समिति बनेको थियो । सदस्यहरुमा निरबहादुर मगर र विक्रम राई रहेका छन् ।वातावरण तथा विपद व्यवस्थापन समितिको संयोजकमा शुभाष निरौलालाई संयोजक दिएको छ । यसअघि भिम बहादुर पुलामी मगरको संयोजत्व रहेको थियो । विधेक समितिमा अवधेश प्रसाद चौधरीलाई संयोजक तोकेको छ भने यसअघि विश्वराज भट्टराईलाई जिम्मेबारी दिइएको थियो । विश्वराज भट्टराईलाई अहिले लेखा समिति संयोजकको जिम्मेबारी दिईएको छ ।

यस्तै आर्थिक विकास समिति, सामाजिक विकास समिति र पूर्वाधार विकास समितिमा पहिलेकै संयोजकलाई जिम्मेबारी दिईएको छ । आर्थिक विकास समितिको संयोजक धमान सिंह खत्री (धुव्र), सामाजिक विकास समितिमा मान बहादुर राई र पूर्वाधार विकास समितिमा कुरुङलाई नै पुनः जिम्मेबारी दिईएको प्रवक्ता दनुवारले जानकारी दिए । बैठकले जेष्ठ नागरिक, महिला तथा किशोरी र बालवालिकाहरुको स्वास्थ्य परिक्षण शिविर संचालन गर्ने प्रस्ताव पारित गरेको छ । जनतासँग मेयर कार्यक्रम शिर्षकको बजेटबाट नगरपालिकाको १६ वटै वडामा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको छ । बैशाख १३ गते वडा नं. १ मा हुने छ भने क्रमशः बैशाख २८ गते वडा नं. १६ मा स्वास्थ्य शिविर हुने प्रवक्ता दनुवारले जानकारी दिए । बैठकले नगरपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई र समिक्षा वैसाख २९ गते वडा नं. ४ को सालघारीमा संचालन गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै, नगरपालिकाको गत चैत्र १८ गतेको निर्णयले विद्यार्थी संख्या कम भएका र भौगोलिक रुपमा नजिकै अर्कौ विद्यालय रहेका विद्यालयमा गाभ्ने (मर्ज) गरेको निर्णयलाई अनुमोदन गरेको छ । यस नगरपालिका वडा नं ७, ८, ११ र १६ नं वडामा सञ्चालित विद्यालयहरु श्री आ.वि. तोरीवारी, श्री आ.वि. झोरा, श्री जनज्योति आ.वि. चप्पन र जनता आ.वि. गैरीटोललाई अर्को विद्यालयमा गाभ्ने (मर्ज) निर्णयलाई अनुमोदन गर्ने वडा न १२ को तजविबुल कुरानलाई धार्मीक विद्यालयको रुपमा संचालन गर्ने र शिक्षक दरवन्दी त्रियुगा नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा अन्तर्गत पुल दरवन्दीमा राख्ने निर्णय गरेको छ ।

यस्तै वडा नं १४ को श्री बालकन्या आ.वि. सिम्लेलाई घटुवा गरिएको कक्षा – ३ नै कायम रहने र वडा नं १५ को श्री आवि कुभिण्डे, श्री संकाली आवि रातमाटे, श्री आवि गिजिन्टार विद्यालयहरुलाई भौगोलिक विकटता र अन्य कारणले गर्दा हाललाई घटुवा नगरी यथावत नै राख्ने तर तोकिएको मापदण्ड पूरा नगरेमा उक्त विद्यालयहरुलाई शैक्षिक सत्र २०७७ बाट स्वतः कक्षा ३ सम्म मात्र कायम रहने निर्णय समेत गरेको छ ।

Advertisement

Advertisement

Advertisement