नेपाल टेलिकमले सोमबारदेखि ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवा सञ्चालनमा ल्याउने

ntc

काठमाडौ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गर्नुभएको थियो । सो सेवालाई हाल व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ । अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् ।

त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन् । चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपियाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपियाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपियाँ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपियाँ लाग्ने छ ।

त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ । भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपियाँ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपियाँ लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।

कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ ।

अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि www.ntc.net.np डायल गर्नु पर्ने छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी तथा सुविधा लिन सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।