भूमाफियाले मन्दिरको जग्गा पनि छाडेनन्, उग्रताराको सयौं रोपनी जग्गा गायव

Advertisement

डडेलधुरा । उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसंँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ ।

जग्गाका विषयमा पटक पटक विवाद उत्पन्न भए पनि सरोकारवाला निकायले चासो नराख्दा व्यक्तिले हडप्ने क्रम बढेको हो । स्थानीय बासिन्दासँग विवाद पुनः सुरु भएपछि उग्रतारा क्षेत्र विकास समितिले त्यसको समाधानको प्रयास थालेको छ ।

पञ्चायतकालमा राई, भूमिराज, पोखरा र खलंगा गरी ४ वटा गाउँ पञ्चायतमा गरी मन्दिरका नाममा १७ हजार रोपनी जग्गा थियो । १ सय ८० रोपनी चार किल्ला प्रमाणित गरी दर्ता प्रक्रियामा गएबाहेक मन्दिरका नाममा अरू जग्गा छैन, मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले भने, मन्दिर रहेको पूरै क्षेत्र नक्सामा ऐलानी वनमा परेको छ । मन्दिरका नाममा दर्ता प्रक्रियामा रहेको जग्गा भने मन्दिरदेखि टाढा पोखरा बजार, लटाउली, खनमडा, दुमडा, सिरोला र सल्लेश्वर गाउँमा रहेको अध्यक्ष साँकीले जानकारी दिए । प्राचीन मन्दिर क्षेत्र, हाल मन्दिर परिसरमा निर्माण भएका सबै संरचनासमेत ऐलानीमा छन् ।

मन्दिरको पूर्वी क्षेत्रको झन्डै २ सय रोपनी जग्गाका विषयमा विकास समिति र स्थानीयवासीबीच पुनः विवाद सुरु भएको छ । विकास समितिले वेद विद्यालय निर्माणका लागि मन्दिरको पूर्वी क्षेत्रमा रहेको १२ रोपनी जग्गा प्रयोग गर्न खोज्दा मन्दिर आसपासका बासिन्दाले परापूर्वकालदेखि आफूहरूले उपभोग गर्दै आएको जग्गा मन्दिरले कब्जा गर्न खोजेको आरोप लगाएका छन् । मन्दिरको पूर्वी क्षेत्रमा रहेको झन्डै ३ सय रोपनीभन्दा बढी जमिनमा स्थानीयले दाबी गरेका छन् । उक्त जमिन नक्सामा भने वन क्षेत्रमा रहेको देखिन्छ ।

एकातिर मन्दिर नै ऐलानी क्षेत्रमा छ, अर्कोतिर मन्दिरको हजारौं रोपनी जग्गा विभिन्न समयमा व्यक्तिका नाममा दर्ता हुंँदै आएको छ । ०३३ सालको नापी हुंँदा तत्कालीन मुखिया, तालुकदार र पहुँचवालाले मन्दिरको अधिकांश जग्गा व्यक्तिका नाममा दर्ता गरेका थिए । त्यसपछि पनि निरन्तर अतिक्रमण हुँदै आएको छ ।

हालको अमरगढी नगरपालिका क्षेत्रका तत्कालीन चारवटा गाविस पोखरा, राई, खलंगा र भूमिराजमा मन्दिरको गुठीका नाममा हजारौं रोपनी जग्गा रहेको अभिलेख देखिन्छ । हाल पनि गुठीको जग्गा भोगचलन गर्दै आएका तर लालपुर्जा नपाएकाको संख्या ठूलो छ । अहिले पनि भोगचलनलाई नै आधार बनाएर जग्गा कब्जा भइरहेको छ ।

२०७१ मा क्षेत्र विकास समितिले सबैसँग छलफल गरेर मन्दिरको क्षेत्र छुट्याउने काम गरेको हो, अध्यक्ष साँकीले भने, झन्डै १२ सय रोपनी जग्गा घेरबारसमेत भइसकेको थियो । अध्यक्ष साँकीका अनुसार घेरबार क्षेत्रभित्रै वेद विद्यालयको संरचना निर्माण गर्न खोज्दा पुनः विवाद उत्पन्न भएको हो । घेरबार गर्दा स्थानीयवासी, क्षेत्र विकास समिति र सरोकारवालाबीच सहमति भएको समितिले बताएको छ ।

मन्दिरको जग्गा यकिन नगरी विवाद समाधान हुन नसक्ने र विवाद झिक्दै समय समयमा जग्गा कब्जा हुने गरेको भए पनि क्षेत्र विकास समितिले ठोस पहल गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । नापी, मालपोत, स्थानीय प्रशासनलगायतका सरोकारवाला निकायसमेतको सहभागितामा मन्दिरको जग्गा छुट्याइनुपर्ने उनीहरूको माग छ ।

विवाद समाधान गर्न आइतबार क्षेत्र विकास समितिले बैठक राखे पनि समाधान निस्किएन । जग्गा छुट्याउने आधिकारिक निकायसमेतको सहभागितामा छलफल र विवाद समाधान गरिनुपर्छ, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, मन्दिरको नाममा जग्गा छैन, भनेको र सुनेको भरमा मात्र कुरा गरेर समाधानहुन सक्दैन ।

प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल र देशका सय गन्तव्यमध्येको उग्रतारा मन्दिरको जग्गा विवादको चाँडो समाधान गर्न क्षेत्र विकास समितिले आवश्यक पहल गर्नुपर्ने प्रजिअ जोशीले बताए । उनले भने, विवाद गर्ने पनि, स्थानीय क्षेत्र विकास समितिमा पनि सबै स्थानीय भएकाले सरोकारवाला निकाय राखेर समाधान गर्नु आवश्यक देखिएको छ ।

विश्वसम्पदा सूचीबाट हटेपछि बेवास्ता
०३४ सालमा विश्वसम्पदा सूचीमा सूचीकृत उग्रतारा मन्दिर ढुंगैढुंगाले कुँदेर कलात्मक शैलीमा निर्माण भएको थियो । मन्दिरको प्राचीन शैली र मौलिकता बिगारिएका कारण युनेस्कोले ०५४ सालमा उग्रतारा मन्दिरलाई सम्पदा सूचीबाट हटाएको हो । तत्कालीन मन्दिर निर्माण समितिलाई पुरातत्त्व विभागले कारबाही सिफारिससमेत गरेको थियो । निर्माण समितिका अध्यक्ष दीर्घराज भट्टको मृत्यु भइसकेको छ ।

सूचीबाट हटाएपछि यस विषयमा कसैले चासो राखेन । मन्दिरको स्वरूप बिगारियो, त्यस संँगसँंगै चारैतिर सिमेन्ट प्रयोग गर्दै थुप्रै भवन बनिसकेका छन् ।

प्राचीन मन्दिरको भित्री भाग स्थानीय भाषामा (गाथ)को माथि तामाको छानो भएको र चारैतिर कलात्मक ढुंगाले कुँदिएको मन्दिरको अहिले कुनै अवशेषसमेत बांँकी छैन ।

मन्दिरसँंग जोडिएको हवन कुण्ड पनि कलात्मक पलेटा ढुंगाले कुँदेर निर्माण गरिएको थियो । इतिहासकार योगी नरहरिनाथले सुदूरपश्चिम दिग्दर्शनमा उग्रतारा मन्दिर १३ सय वर्ष पुरानो भएको उल्लेख गरेका छन्, तर ०५० सालमा पुनर्निर्माण हुनुअघिको प्राचीन मन्दिरकहिले निर्माण भयो भन्ने यकिनतथ्य भेटिँदैन ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement