जोमसोम विमानस्थलको स्तरोन्नति सुरु

Advertisement

मुस्ताङ । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्गको ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो ।

आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए। ग्रेड नमिलेकाले जमिन काटेर लेभल मिलाउन लागेका हौँ पौडेलले भने, विमानस्थलमा ओभरले पनि हुन्छ ।
अहिले तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने भएको छ । बीस वर्षअघि गरिएको कालोपत्रको म्याद सकिन लागेको थियो । प्रत्येक चाररचार वर्षमा कालोपत्र गर्नुपर्ने प्राविधिक बताउँछन् । विमानस्थललाई कालीगण्डकीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण र घेराबारलगायतका पूर्वाधार पनि बनाउन लागिएको छ ।

विमानस्थल स्तरोन्नति आयोजनाका लागि प्राधिकरण र एपेक्स कन्स्ट्रक्सनबीच गएको असोजमा नौ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । चिसो र हिमपातका कारण कात्तिकको अन्तिम सातादेखि काम हुन सकेन । मौसममा सुधार आएपछि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर कामलाई तीव्रता दिइएको एपेक्स कन्ट्रक्सनका इञ्जिनीयर लालध्वज लामाले बताए ।

गएको असारमा १५ महिनाको आयोजना भए पनि अबको दुई महिनाभित्र सम्पन्न गरिसक्ने उहाँले बताए । विमान अवतरण नहुने समयमा स्तरोन्नतिको काम गरिएको छ । जोमसोम विमानस्थलमा दिउँसो अत्यधिक हावाहुरी चल्ने भएकाले सो समयमा जहाज आउँदैनन् ।

विमानस्थल स्तरोन्नति भएपछि जहाज अवतरणमा सहज भई दुर्घटनाको जोखिम न्यूनिकरण हुने अपेक्षा गरिएको छ । अहिले धावनमार्गको कालोपत्र उप्किएको, ग्रेगर निस्किएर खाल्डाखुल्डी परेकाले विमान अवतरण गर्दा समस्या हुने गरेको छ । पोखरा–जोमसोम हवाईमार्गमा समिट र तारा एयरका जहाजले दैनिक पाँच उडान भर्दै आएका छन् । पर्यटक र तीर्थयात्री ओसार्ने हेलिकप्टरको चाप पनि बढ्दो छ ।

Advertisement

Advertisement

Advertisement