राष्ट्र बैंकका पाँच जना कार्यकारीको अवकाश, अब कसले पाउला जिम्मेवारी ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशकहरु अवकाश भएका छन्। बैंकका १७ जना कार्यकारी निर्देशकमध्ये सो संख्याका कार्यकारी निर्देशकहरुले एक महिनापछि अवकाश हुने भएपछि बिहीबारबाटै उनीहरु बिदामा बसेका हुन् ।

राष्ट्र बैंकको नियमन विभाग प्रमुख तथा प्रवक्ता नारायणप्रसाद पौडेल, राष्ट्र ऋण विभागका नरबहादुर थापा, लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागका जनकबहादुर अधिकारी, विदेशी विनिमय विभागका भीष्मराज ढुङ्गाना र बैंकिङ अफिसका झलक शर्मा आचार्य अवकाश भएका हुन् ।

पाँचै जना ३० बर्षे सेवा अवधि पुरा गरेका कारण अवकाश भएका हुन्। राष्ट्र बैंकमा ३० बर्ष सेवा अवधि वा उमेर ५८ बर्ष जुन अघि हुन्छ त्यसैका आधारमा अवकाश हुने ब्यवस्था छ ।

पाँच जना विभागीय प्रमुखहरु अवकाशका लागि बिदामा बसे पनि उनीहरुको ठाउँमा कसैलाई पनि कार्यभार दिइएको छैन। पौडेल बैंकिङ नियमन र सुपरिवेक्षणमा राम्रो मानिन्छन् भने थापा अनुसन्धानमा राम्रो मानिन्छन्। ढुङ्गानाको विदेशी विनिमयमा राम्रो विज्ञता छ ।

अब रिक्त रहेको कार्यकारी निर्देशकमा नरेश शाक्य, सुमनकुमार अधिकारी, डा. प्रकाशकुमार श्रेष्ठ, बमबहादुर मिश्र र सरिता भट्ट अधिकारी पदोन्नति हुने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement