विद्युत प्राधिकरणले लाईन काट्न लागेपछि इन्टरनेट सेवा प्रदायकहरु चिन्तित्

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट र टिभी सेवा बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल विद्युत प्राधिकरणले पोल तथा अप्टिकल फाइबरको भाडा बृद्धि गरेकोमा आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायकहरुको संगठनले इन्टरनेट र टिभी सेवा बन्द गर्ने चेतावनी दिएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले नेपाल विद्युत प्राधिकरणले तोकेको नयाँ दररेट अनुसार पोल भाडा तिरेमा इन्टरनेट र केबल टिभी सेवा महङ्गो हुन जाने बताए ।

उनले भने–‘हामीले बार्षिक ९० करोड कमाई गर्दै आएको छौँ, प्राधिकरणलाई मात्र ७५ करोड बुझाउँदा हामीलाई चल्न गाहे हुन्छ, त्यससैले हामी इन्टरनेट र टिभी सेवा बन्द गर्न बाध्य हुन्छौँ ।’

तारहरु काटिए इन्टरनेटमा आधारित सेवाहरु र केबल टिभीहरु ठप्प हुनेछन् । बैंक, एटीएम, एयरलाइन्सहरु, बिमानस्थलका सम्पूर्ण सेवाहरु, सञ्चार माध्यमहरु र मोवाइल टाबरका सेवाहरु ठप्प हुने अध्यक्ष सुवेदीले चेतावनी दिए ।

नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमसँग सम्झौता गरी ती संस्थाहरुको पोल प्रयोग गरी आफ्नो सेवा प्रवाह गर्दै आएकोमा २०७५ साउन १ गतेदेखि भाडा बृद्धि गरेपछि सेवा प्रदायकहरुले भाडा तिरेका छैनन् ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले यसबारेमा आफूहरु वार्तामा बस्न तयार भएपनि आफूहरुलाई बेवास्ता गरिएको बताए । उनले भने(कसैले पनि हाम्रो कुरा सुन्न चाहेको छैन ।

२०७५ साउन १ गतेदेनि सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत टेलिकम सर्भिस चार्ज लगाएको छ, यसप्रतिपनि व्यवसायीहरुले आपत्ति जनाएका छन् । त्यसैगरी विदेशी च्यानलहरु क्लिन फिड हुनु पर्ने प्रावधानले समेत अप्ठ्यारोमा पारेको संघका अध्यक्ष भट्टले बताए ।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समिति, नेपाल केबल टिभी महासंघ, इन्टरनेट सेवा प्रदायक एशोसियशन र डिश मिडिया नेटवर्क लिमिटेडले प्राधिकरणलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका छन् ।

Advertisement

Advertisement

Advertisement