मत सर्वेक्षणले भन्छ- मोदीले अर्को कार्यकाल पनि शासन गर्छन्

Advertisement

नयाँ दिल्ली । भारतमा १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात् अन्तिम चरणको मतदान सकिएको छ । मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मत सर्वेक्षण (एग्जिट पोल)का नतिजाले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गणबन्धन (एनडीए) कै सत्ता निरन्तर रहने प्रक्षेपण गरेको छ ।

सर्वेक्षणहरूले लोकसभा चुनावमा एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन् । ५ सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा बहुमतका लागि २ सय ७२ सिट भए पुग्छ ।

सर्वेक्षणहरूको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिन्छ । भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए)ले करिब १ सय ४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ ।

सर्वेक्षणहरूले उत्तरप्रदेश र दक्षिण भारत केही प्रतिकूल देखिए पनि हिन्दु बहुल क्षेत्र र पूर्वोत्तरबाट सत्तारूढ गठबन्धन एनडीएले सहज बहुमत ल्याउने देखाएका छन् । चुनावअघिका मत सर्वेक्षणहरूले भने खण्डित अर्थात् कुनै पनि गठबन्धनले बहुमत नल्याउने प्रक्षेपण गरेका थिए ।

अन्तिम चरणअन्तर्गत आइतबार विभिन्न सात प्रदेश र केन्द्रशासित एक गरी आठ राज्यका ५९ लोकसभा सिटमा मतदान भएको थियो । उत्तरप्रदेश (यूपी)का १३, बिहारका आठ, पश्चिम बंगालका नौ, पन्जाबका सबै १३, चण्डिगढको एक, झारखण्डका तीन, हिमाञ्चलका सबै चार र मध्यप्रदेशका आठ क्षेत्रका दस करोडभन्दा बढी मतदाताले ९ सय १८ उम्मेदवारको भाग्य बिहीबार फैसला गरेका हुन् ।

अन्तिम चरणमा प्रधानमन्त्री मोदीदेखि बलिउड अभिनेता सन्नी देवलसम्म चुनावी मैदानमा थिए । आइतबार मतदान भएका ५९ सिटमध्ये ३९ सिट सन् २०१४ को चुनावमा भारतीय जनता पार्टी र गठबन्धन दलले जितेका थिए । आइतबार पश्चिम बंगालमा छिटपुट हिंसात्मक घटनासँगै करिब ६१ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

११ अप्रिलमा सुरु भएको चुनावलाई मोदी सरकारको विगत पाँच वर्षको कामकारबाहीको परीक्षाका रूपमा हेरिएको थियो । पाँच वर्षअघि ४४ सिटमा सीमित भएको विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका लागि जीवनमरणकै सवाल ठानिएको थियो । राजनीतिक विश्लेषकहरूले यो चुनावलाई अध्यक्ष राहुल गान्धीको नेतृत्व क्षमताको परीक्षासमेत भनेका थिए ।

करिब डेढ महिनासम्म चलेको चुनावमा सत्तारूढ गठबन्धनले राष्ट्रिय सुरक्षा र राष्ट्रवादको मुद्दालाई अघि सारेको थियो भने विपक्षीहरूले रफाल लडाकु खरिद प्रकरण, किसान समस्या बेरोजगारी, नोटबन्दी, जीएसटी र हिन्दु अतिवादलाई प्रमुख मुद्दा बनाएका थिए ।

यिनै मुद्दालाई करिब ९० करोड मतदातासमक्ष पुर्‍याउँदै अभिमत आफ्नो पक्षमा पार्न सत्तारूढ र विपक्षीहरूबीच विगत दुई महिनादेखि तीव्र प्रतिस्पर्धा थियो । यसक्रममा व्यक्तिगत आरोपरप्रत्यारोपदेखि इतिहासका प्रसंगलाई कोट्याउने र त्यसको पक्षविपक्षमा उभिने शृंखलासमेत चल्यो ।

चुनाव प्रचारका क्रममा सत्तापक्षले विपक्षीहरूसँग प्रधानमन्त्रीका लागि एउटा अनुहारसमेत नरहेको र सत्ताका लागि मात्र एक ठाउँमा रहेको आरोप लगाएको थियो । विपक्षीहरूले भने हिन्दु अतिवादी लादेर सामाजिक सद्भाव बिथोल्नुका साथै यसअघि गरिएका प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका थिए ।

भारतीय जनता पार्टी नेतृत्वको सत्तारूढ गठबन्धन एनडीए र यूपीएबीच तीव्र प्रतिस्पर्धा ठानिएको थियो । प्रारम्भिक मत सर्वेक्षणहरूले एनडीएले स्पष्ट बहुमत ल्याउने भविष्यवाणी गरे पनि निर्वाचन सकिँदै गर्दा केही भारतीय सञ्चारमाध्यम र राजनीतिक विश्लेषकहरूले यस पटकको चुनावमा कुनै पनि गठबन्धनको प्रस्ट बहुमत नआउने र सत्ताको साँचो क्षेत्रीय दलहरूको हातमा पुग्ने प्रक्षेपण गरेका थिए ।

मतदानपछि आएका सर्वेक्षणका नतिजाले सत्तारूढ एनडीएले सहज बहुमत ल्याउने प्रक्षेपण गरेर यसअघिका अनुमान र विश्लेषणमाथि संशय पैदा गरेका छन् । एनडीएले बहुमत नल्याउने विश्वाससहित भाजपालाई सत्ताबाहिर राख्न राजनीतिक समीकरणमा जुटेका विपक्षीहरूलाई निराश बनाएको छ । तेलगुम देशम पार्टीका प्रमुख चन्द्रबाबु नायडु विपक्षीहरूबीच तालमेल गराउन विगत दुई दिनदेखि दिल्लीमै थिए ।

त्यसो त विगतका परिणामलाई हेर्दा ती भविष्यवाणी शतप्रतिशत मिल्छन् भनी यकिन गर्न सक्ने अवस्था छैन । सन् २०१४ को लोकसभा चुनावमा अधिकांश सर्वेक्षणले भाजपा नेतृत्वको गठबन्धनले बढीमा २ सय ८९ सिट ल्याउने प्रक्षेपण गरेका थिए, तर भाजपा एक्लैले २ सय ८२ सिट ल्याएको थियो । मत सर्वेक्षणहरूको विगतको कमजोर विश्वसनीयताको कारण देखाउँदै केही राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकारहरू एग्जिट पोलका नतिजालाई अन्तिम मान्न नसकिने धारणा राख्छन् ।

तिनैमध्येका एक हुन वरिष्ठ पत्रकार तथा विश्लेषक उर्मिलेश सिंह । ुयस्ता सर्वेक्षणहरूको कुनै ठोस वैज्ञानिक आधार देखिँदैन । सही पनि हुन सक्छन् । तर, धेरै पटक गलत सावित भएका छन्,ु उनले भने । विशेषगरी हिन्दीभाषी क्षेत्रमा मोदी सरकारविरुद्ध दलित, पिछडा वर्ग र अल्पसंख्यकहरूमा देखिएको असन्तुष्टिलाई हेर्ने हो भने पनि यी सर्वेक्षणहरू तथ्यको नजिक नरहेको उनको दाबी छ । ुवास्तविक परिणामका लागि २३ मे नै कुर्न बेस हुन्छ,ु उनले भने ।

अस्ट्रेलियाको शनिबारको चुनावी नतिजाले पनि यस किसिमका मत सर्वेक्षणलाई गलत सावित गरेको थियो । करिब चार दर्जन मत सर्वेक्षणलाई गलत सावित गर्दै प्रधानमन्त्री स्कट मरिसन नेतृत्वको गठबन्धन पुनर्निर्वाचित भएको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement