धर्मप्रचार गर्ने विवादास्पद विश्वविद्यालयसँग त्रिविले गर्यो सम्झौता

Advertisement

काठमाडौं । दक्षिण कोरियाको क्रिस्चियन धर्म प्रचारक संस्थाका रूपमा स्थापित काङनाङ विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि उपाधि दिएको भोलिपल्टै त्रिवि र सो विश्वविद्यालयबीच पाँच वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान सम्झौता भएको छ। सो विश्वविद्यालयका प्रेसिडेन्ट सिनिल युनले त्रिविका कुलपतिसमेत रहेका ओलीलाई सो उपाधि प्रदान गरेका थिए।

त्रिविका उपकुलपति तीर्थराज खनियाँले प्रधानमन्त्री ओलीले मानार्थ विद्यावारिधि प्राप्त गरेको भोलिपल्टै बिहीबार प्रेसिडेन्ट युनसँग पाँच वर्ष शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सहमति गरेका हुन्। सो विश्वविद्यालय रहेको क्रिस्चियन धर्म प्रचारक संस्था भन्ने सार्वजनिक भएपछि सो विषय विवादमा परेको थियो।

त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्राडा भूपप्रसाद धमलाका अनुसार बिहीबार प्रेसिडेन्ड युन त्रिवि उपकुलपति कार्यालयमै आएका थिए। ‘प्रेडिसेन्ड युन र उपकुलपति खनियाँले संयुक्त रूपमा पाँच वर्ष शैक्षिक आदानप्रदान गर्नेबारे समझौतापत्रमा हस्ताक्षर नै गर्नुभएको छ,’ धमलाले भने, ‘काङनाङ विश्ववद्यालय र त्रिविबीचको सम्बन्ध सन् २०१७ मै सकिएको थियो।’

उनले थपे, ‘यस वर्ष प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि उपाधि काङनाङले दिएको भोलिपल्टै त्रिविले पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको लिखित प्रमाण अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा छ।’ उनले दुवै देशका शिक्षक–विद्यार्थीले विशेष परिस्थितका विद्यार्थीको उच्च शिक्षामा पहुँच कसरी पु¥याउनेबारे शैक्षिक सामग्री, पाठ्य सामग्रीलगायत विषयमा शैक्षिक गतिविधि र अनुसन्धान परियोजना आदान–प्रदान सम्झौता भएको उललेख गरे।

उनका अनुसार त्रिविले हालसम्म विश्वका विभिन्न देशका १ सय ६० विश्वविद्यालयसँग शैक्षिक आदानप्रदानबारे सम्झौता गरेको छ। ‘काङनाङ विश्वविद्यालयसँग त्रिविको सम्झौता गर्नु राम्रो हो,’ उनले भने, ‘तर यदि कुनै विश्वविद्यालयले नेपालको गाउँगाउँमा गएर आफ्नो धर्मको प्रचार गर्छ भने त्यो गलत हो।’

उनले थपे, ‘तर मलाई काङनाङले धर्म प्रचार गर्नेबारे कुनै जानकारी नै छैन।’ डेढ दशकअघि विशेष परिस्थितका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पु¥याउनेबारे काङनाङ र त्रिविबीच सम्झौता भए पनि ग्रामीण क्षेत्रमा गएर क्रिस्चियन धर्मको प्रचारप्रसार गर्ने गरेको रहस्य खुलेपछि त्रिविले सो सम्झौता बीचैमा तोडेको त्रिविका प्राध्यापकहरू बताउँछन्।

काङनाङ विश्वविद्यालय दक्षिण कोरियामा क्रिस्चियन धर्म प्रचारक संस्थाका रूपमा सन् १९४६ मा स्थापना भएको हो। ‘स्वर्ग र ईश्वरको प्रार्थना तथा मानवता प्रेम’बारे उपदेश दिनुलाई आफ्नो उद्देश्यका रूपमा सो विश्वविद्यालयले अघि बढाएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको सहकार्यमा काङनाङ विश्वविद्यालयले डेढ दशकअघि नै त्रिविसँग सम्झौता गरी विशेष परिस्थितका विद्यार्थीलाइ कसरी उच्च शिक्षामा पहुँच पु¥याउने र यसका लागि चाहिने आवश्यक शैक्षिक र प्राविधिक सहयोग उपलब्ध गराउने भन्नेबारे सहमति गरेको अन्तर्राष्ट्रिय सम्बन्धका पूर्वकार्यकारी निर्देशक चन्द्रलाल श्रेष्ठले जनाए।

शिक्षाविद् विद्यानाथ कोइरालाले धर्म प्रचारक संस्थाका रूपमा स्थापित र नेपालमा समेत कुनै विश्वविद्यालयले धर्मको प्रचार गर्छ भने त्यस्तो विश्वविद्यालयलाई त्रिविले पुनः समझौताका लागि अनुमति दिनु गलत भएको बताए। उनले देशको प्रधानमन्त्रीले जथाभाबी अवार्ड थाप्नुभन्दा पनि देशको इज्ज्त र प्रतिष्ठालाई ख्याल गर्नुपर्ने सुझाव दिए। ‘कुन विश्वविद्यालयले प्रधानमन्त्रीलाई अवार्ड गर्दैछ, त्यसको इतिहास बुझ्नु महत्वपूर्ण हुन्छ। तर हामी कहाँ जसले दियो लिइहाल्ने गलत प्रवृत्तिले विवाद उत्पन्न गरेको हो,’ उनले भने, ‘अवार्ड दिने संस्थाको उद्देश्य र लक्ष्य बुझेर देश र पदीय प्रतिष्ठनमाथि आँच नपुग्नेगरी सम्मानित अवार्ड मात्र लिनुपर्छ।’

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement