कार्यक्रममा प्रधानमन्त्री ढिलो पुगेपछि कालो झण्डा प्रदर्शन, प्रदर्शनकारी पक्राउ

Advertisement

काठमाडौं । बुधबार दिउँसो माइतीघर मण्डलामा गुठी समर्थकहरुले सरकारविरुद्ध खबरदारीसभा गरिरहेका बेला कलंकी मालपोत कार्यालयलाई ‘नमूना कार्यालय’ घोषणा गरिएको भन्दै प्रधानमन्त्री ओली र मन्त्री अर्याल दुबैजनालाई बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीले बुधबार नमूना मालपोत कार्यालयको उदघाटन गर्दै देशैभरि छिटो छरितो काम हुने बताइरहँदा नमुना मालपोत कार्यालयको उदघाटन नै तोकिएको समयभन्दा एक घण्टा ढीलो शुरु भए पछि केही व्यक्तिहरुले कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने मध्येका दुईजनालाई प्रहरीले पक्राउ गरेर कालीमाटीको हिरासतमा राखेको छ ।

प्रधानमन्त्री ओली बिहान १० बजे कलंकी पुग्ने कार्यक्रम थियो । तर, उनी ११ बजेमात्रै पुगे । जबकि प्रधानमन्त्रीले ११ बजे प्रचण्डलाई बालुवाटारमा बोलाएका थिए ।

अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामका बारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिने छ । यता माइतीघरको प्रदर्शनमा सहभागीहरुले चाहिँ भूमि व्यवस्था मन्त्री पदमा अर्यालको राजीनामासमेत मागेका थिए ।

प्रधानमन्त्री ओलीले अबको दुई बर्षभित्र देशका सबै मालपोत कार्यालयका ढड्डा र पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए । उनले ‘नमूना मालपोत कार्यालय’ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मालापोतमा मात्रै होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिने छ ।’

सो अवसरमा भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सरकारले जनताको सम्पत्तिलाई रक्षा गर्ने उद्देश्यले भूमि प्रशासनमा जग्गाका स्रेस्तालाई डिजिटलाइज्ड गरेको बताउँदै उक्त प्रणालीलाई आगामी दुई वर्षभित्र स्थानीय तहमा हस्तान्तरण गरिने जानकारी दिए । उनले जनताका काम परिरहने मन्त्रालय मातहतका सबै कार्यालयमा पारदर्शी रुपमा चाँडो काम हुने खालको परिवर्तन सेवाग्राहीले चाहेको बताए ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मालपोत कार्यालयमा सेवाग्राहीलाई सबै सुविधा एकद्वार प्रणालीअन्तर्गत उपलब्ध गराउन आजदेखि नमूना कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि भुर्तेलले अनलाइन सेवा प्रारम्भ भएपछि सेवाग्राही लाभान्वित भएको बताउँदै अहिले राजश्व सङ्कलनमा देखिएको वृद्धिले चालु आवमा ४० अर्ब राजश्वको प्रक्षेपण गरिएको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement