२५ लाखको लोभले ४ वर्षीया छोरीको जीवन बीमा गराई हत्या गर्ने बाबु पक्राउ

Advertisement

रौतहट । जीवन बीमा कम्पनीबाट २५ लाख पाउने लोभले ४ वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ परेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेको खुलासा भएको हो ।

घरमा सुतिरहेकै अवस्थामा असार १७ गते हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो । नाबालिका लक्ष्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा रामकिशोरले बिमाको ठूलो रकम हातपार्न आफ्नै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरेको रहस्य खुलेपछि हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप राम किशोरले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा जेठ १९ गते छोरीको २५ लाखको जीवन बीमा गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । राम किशोरले राति आमासँगै सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको स्वीकारेका छन् ।

प्रहरी हिरासतमा रहेका यादव तत्कालीन माओवादीले गरेको सशस्त्र द्वन्दमा समेत सामिल भएका थिए। द्वन्दकै क्रममा उनी विभिन्न मुद्दामा २०५८ सालदेखि ६१ सालसम्म जेलसमेत बसेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

Advertisement

Advertisement

Advertisement