रासायनिक विषादीयुक्त तरकारी र फलफूलले मुटु, फोक्सो, मिर्गौला क्षति पुग्छः चिकित्सक

Advertisement

काठमाडौं । तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन्। तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकको दाबी छ। विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन्।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. केदारनरसिंह केसीका अनुसार रासायनिक विषादी राखिएको तरकारी एवं फलफूल सेवन गर्दा छाती र टाउको दुख्ने, जिउ चिलाउने, बान्ता हुने, दिसा लागिरहने लगायतका समस्या देखिन्छ। लामो समयसम्म विषादीयुक्त तरकारीको सेवनले मुटु, फोक्सो, मिर्गौलालगायत संवेदनशील अंगमा क्षति पुग्ने केसीले बताए। ‘कलिलो उमेरमै हृदयाघात, मिर्गौला फेल र क्यान्सर हुनुमा विषादी हालिएको तरकारी एवं फलफूल सेवन पनि हो’, उनले भने। डा. केसीले विषादीको जाँच नगर्नु जनस्वास्थ्यका दृष्टिले जघन्य अपराध भएको बताए।

जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यवस्तुको निर्बाध बेचबिखन र उपयोग भइरहेको छ। तरकारी एवं फलफूलमा विषादीको मात्रा र अवस्था परीक्षण गर्ने विश्वसनीय संयन्त्र छैन। ‘एउटा लेबलभन्दा बढी विषादीको प्रयोग भएको छ भने स्वास्थ्यमा असर गर्छ। विषादीको मात्रा र युवा अवस्थामै कपाल फुल्ने, उच्च रक्तचाप र हर्मोनसम्बन्धी समस्या देखिएको छ’, श्वासप्रश्वास विशेषज्ञ डा. करवीरनाथ योगीले भने।

विकसित मुलुकले ५० वर्षअघि प्रयोग गरेको कीटनाशक औषधि अहिले नेपाल र भारतमा प्रयोग भइरहेको छ। डा. योगीले भने, ‘स्वास्थ्यमा असर परेको पुष्टि भएपछि विकसित देशले विषादी प्रयोग बन्द गरिसके। हामी भने प्रयोग गरिरहेका छौं।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ सरकारको निर्णयले जनस्वास्थ्यमा खेलवाड भएको बताउँछन्। विषादीयुक्त तरकारी एवं फलफूल सेवनले तत्काल पेटको समस्या देखिएपछि कलेजो, मुटु, मिर्गौलामा पनि असर गर्ने उनले बताए। विषादीको मात्रा र अवस्थाको जाँच नै नगरिएका फलफूल र तरकारी खाँदा पर्ने असरबारे संघले जनतालाई सुसूचित गराउने उनले बताए।

प्रयोगशाला रिपोर्टमा भर नपरौं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले विषादी परीक्षणका लागि प्रयोगशालाको क्षमता विस्तार गरिने बताएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले केन्द्रमा एउटा मात्रै प्रयोगशाला रहेको जानकारी दिए। केन्द्रीय प्रयोगशालाले जारी गर्ने रिपोर्ट भरपर्दो नभएको उनले दाबी गरे। उनले भने, ‘प्रयोगशालाको क्षमता विस्तार गरी पूर्णरुपमा परीक्षण कार्य थाल्छौं’, उनले भने।

२०७१ असार ४ गते नेपालमा पहिलो पटक तरकारीमा विषादी परीक्षण गरिएको थियो। त्यतिबेला आयातित तरकारीमध्ये ४ प्रतिशत खानै नहुने खालको बिषादी प्रयोग भएको पाइएको थियो।

जीवन नै जोखिममा पार्ने खाद्यवस्तुविरुद्ध सचेत जनता एकजुट हुनुपर्ने डा। योगीको भनाइ छ। कृषि विभागको विषादी पञ्जीकरण शाखाका अनुसार नेपालमा बर्सेनि साढे ६ सय मेट्रिक टन विषादी भित्रिन्छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement