आफ्नै छोराले गरे वृद्ध बाबुको हत्या, आमा गम्भिर घाइते

Advertisement

कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा छोराले बुबाको हत्या गरेका छन्। आइतबार राति ११ः३० बजे घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले धारिलो हतियार हसिया प्रहार गरी ७५ वर्षीय बावु काल्चे रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतकको टाउकोमा ठूलो चोट लागेको प्रहरीले जनाएको छ । टाउकोमा पाँच इन्च जति गहिरो चोट छ। खुट्टा र घाँटीमा पनि चोट देखिएको प्रहरीले जनाएको छ । काल्चे छोरोको आक्रमणबाट ज्यान बचाउन उनी खेतमा भागेका थिए । उनका घर नजिकैको खेतमा प्रहरीले शव फेला पारेको छ। घरमा सबै निदाएका बेला आक्रमण भएको प्रहरीले जनाएको छ।

घटना भएको १५ मिनेटपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो। करिब ११ किलोमिटर पर रहेको इलाका प्रहरी कार्यालय सुखडको टोली त्यसको १५ मिनेटपछि घटना स्थलमा पुगेको थियो । प्रहरीका अनुसार एक जनाको तत्काल उद्धार भयो तर एक जनाको भने घटना स्थलमै ज्यान गइसकेको थियो।

बावुमाथिको आक्रमणबाट जोगाउन आएकी आमा नन्दे रावतमाथि पनि उदेले धारिलो हतियार प्रहार गरेका छन् । आक्रमणबाट उनी गम्भीर घाइते भएकी छन् । इलाका प्रहरी कार्यालय, सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

घरायसी विवादमा छोराले आफ्नै बुवा तथा आमामाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धाननाट खुलेको प्रहरीले जानकारी दिएको छ । हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय, सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement