उपभोक्ताको श्रमदानबाट खानेपानी आयोजना निर्माण

Advertisement

काठमाडौं । पूर्वखोला गाउँपालिका– १ सिलुवा तामाखानीका स्थानीयले श्रमदानमा खानेपानी आयोजना निर्माण गरेका छन् ।

वर्षौं देखिको खानेपानी समस्या भोग्दै आएका स्थानीयले श्रमदान गरेर आयोजना निर्माण भएपछि अहिले गाउँमा खानेपानी सुविधा पुगेको छ । एक गाग्री पानीको लागि आधा घण्टाको समय बिताएर खानेपानी उपभोग गर्नुपर्ने बाध्यता थियो ।

बस्तीदेखि करीब डेढ किलोमिटर पर रहेको तामाखानीबाट गाउँमा पानी ल्याइएपछि सजिलोसँग उपभोग गर्न पाउँदा खुशी लागेको पुतलीदेवी हिस्कीले बताए । करीब ९० घरपरिवारका स्थानीय उपभोक्ताले १५ लाख बराबरको श्रमदान गरेर आयोजना निर्माणको काम गरेको तामाखानी खानेपानी आयोजनाका अध्यक्ष दुर्गादेवी जर्घाले बताए ।

गोरखा वयर फर ट्रस्ट नेपालले २५ लाख रकम सहयोग गरेपछि सजिलोसँग आयोजना सम्पन्न भएको उनले बताए । आयोजनाको पानीलाई अहिले गाउँमा दश स्थानमा धारा जडान गरेर वितरण गरिएको छ । पछि एक घर एक धारा जडान गर्ने योजना रहेको समितिले जनाए ।

Advertisement

Advertisement