ग्रामीण भेगका नागरिकलाई वित्तीय सेवामा पहुँच पुर्याउन ईसेवा र युके एडको सक्षमबीच सम्झौता

MOU

काठमाडौं । ईसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नको लागि ईसेवा फोनपे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमकातर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतामार्फत् स्थापित गरिएका ईसेवा क्यास पोइन्टले डिजिटल माध्यममार्फत् ग्रामीण उपभोक्ताहरुलाई वित्तीय सेवाहरु प्रदान गर्नेछन् । यस परियोजनाको उद्देश्य भनेको वित्तीय सेवाह रुपमा आमनागरिकहरुको पहुँच वृद्धि गर्नुका साथै सम्पूर्ण वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकहरुमा नवीन डिजिटल वित्तीय सेवाहरुको पहुँच बढाउने कामको प्रवद्र्धन गर्ने हो ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दाहरुलाई वित्तीय सेवामा पहुँच प्रदान गर्नको लागि युके एडको सक्षमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ । हामी इसेवाक्यास पोइन्टको प्रणाली स्थापित गर्नेछौँ जसले ग्रामीण भेगमा कम सेवा पाइरहेका वा सेवा नै नपाइरहेका उपभोक्तालाई उत्कृष्ट वित्तीय समाधानहरु प्रदान गर्न सक्छन् । त्यसको नतिजा स्वरुप बढी कारोबार लागत भएका सेवाहरुको विकल्प क्यास पोइन्ट हुन सक्छ र वित्तीय सेवा प्राप्त गर्ने जनसंख्याको हिस्सा पनि वृद्धि गर्नेछ ।’

सक्षम एक्सेस टु फाइनान्स नेपाल तथा सरकारबीच भएको सम्झौता बमोजिम सञ्चालन भैरहेको एक कार्यक्रमहो । यसलाई डीएफआईडी नेपालको तर्फबाट लुइस बर्जरले स्थानीय तथा अन्तर्रा्ष्ट्रिय संस्थाहरुसँको साझदारीमा कार्यान्वयन गरिरहेको जनाएको छ ।

इसेवा नेपाल राष्ट्रबैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स् प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवामा २० लाखग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल रहेको छ ।