परम्पराको विकल्प खोज्दा भूकम्पले जुराईदिएको 'गोर्खा इको प्यानल'

Advertisement

कृष्ण भक्त दुवाल, प्रमुख कार्यकारी अधिकृत, गोर्खा इको प्यानल
काठमाडौं । भक्तपुरको रैथाने नेवार समुदायमा जन्मिएका कृष्णभक्त दुवालको पुख्यौली पेशा इँटा उद्योग हो । उनले पढे पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा नविकरणीय उर्जा विषय । रिन्युअल इनर्जी इन्जिनियरिङमा स्नातकोत्तर गरेका दुवालले इँटा उद्योगको प्रदुषणका कथा देखे/सुनेपछि पुख्यौली पेशाको विकल्पको खोजी गर्न थाले । विल्कपको खोजी गर्दै जाँदा जन्मियो गोर्खा इको प्यानल जो आजकल व्यवसायीक तथा निजी प्रयोजनका घर निर्माणमा भरपर्दो वाल निर्माणको परिचित र भरपर्दो ब्राण्डको रुपमा परिचित हुन पुगिसकेको छ ।

‘घरका वाल बनाउने धेरै विकल्पहरु छन् । ढुँगा, ब्लक र इँटा हालसम्म प्रचलनमा रहेका वस्तु हुन् । यीबाहेक अर्को एउटा विकल्पका रुपमा गोर्खा इको प्यानल आएको छ ।’, गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत दुवाल भन्छन् । उनले इञ्जिनियरिङमा स्नातकोत्तर उतिर्ण गरेपछि करिब चार वर्ष इँटाको विकल्प खोज्ने क्रममा प्रिफ्याब फेला पारे । त्यसक्रममा उनी चीन, इटाली, जापान र बहराइन लगायतका आधा दर्जन देशको दौडाहामा पनि निस्किए । त्यही क्रममा चीनमा उनले इँटाको विकल्पका रुपमा यस्ता प्रिफ्याब हुनसक्ने तथ्य फेला पारे र नेपालमा गोर्खा इको प्यानलको रुपमा उद्योग सञ्चालन गर्न थाले ।

भूकम्पले ल्याएको त्यो अवसर
दुवाल भन्छन्, ‘भूकम्प आएको दिन २०७२ वैशाल १२ मा म उद्योगको संरचना बनाईरहेको थिएँ । त्यही भूकम्पले हामीलाई ब्राण्डिङमा सहयोग गर्यो । गोर्खा इको प्यानलको नामाकरण पनि गोर्खा भूकम्पबाटै भएको हो ।’, उनले सुनाए । बार्षिक १० लाख स्क्वायर फिट उत्पादन क्षमता छ रहेको कम्पनीले हाल बार्षिक ७ लाख स्क्वायर फिट मात्रै उत्पादन गरिरहेको छ ।

भक्तपुरमा उत्पादन भैरहेका गोर्खा इको प्यानलको बजार भने ४५ वटा जिल्लामा फैलिसकेको छ । देशभर १४ वटा आउटलेट स्थापना भएका छन् । गोर्खा इको प्यानल प्रयोग गरेर रारामा सुविधा सम्पन्न आधुनिक रिसोर्टको निर्माण धमाधम अघि बढिरहेको छ ।

कसरी बन्छ गोर्खा इको प्यानल ?
दुई तिर ४.४ एमएमको क्याल्सियम सिलिकेट बोर्ड राखिन्छ । ‘त्यसभित्र बालुवा, सिमेन्ट र थर्मकोल राख्छौं । त्यसमा बहराइनबाट ल्याएको केमिकल राख्छौं ।, २४ घण्टा त्यसरी राखेपछि थप २४ दिन घाममा सुकाएपछि तयार हुन्छ गोर्खा इको प्यानल’, दुवालले भने । यसको आकार दुई फिट बाई साढे सात फिटको हुन्छ । मोटाई भने २ इञ्चदेखि ९ इञ्चसम्मको हुन्छ । एक पटकमा २५० वटा प्यानल बनाउन सकिन्छ ।

इँटा र ब्लक भन्दा कति फरक ?
ब्लकलाई वेट वाल (भिजेको भित्ता) भनिन्छ । ब्लक लगाउँदा पानीको उपयोग हुन्छ । गोर्खा इको प्यानल भने ड्राई वाल हो । यो लगाउँदा पानीको प्रयोग गर्नु पर्दैन् । र यसको ब्लक र इँटाको भन्दा घनत्व पनि कम हुन्छ ।  यसको घनत्व ६५० किलो प्रति क्युबिक मिटर हुन्छ । जबकी इँटा वा ब्लकको कुरा गर्ने हो भने १८०० किलो प्रति क्युबिक मिटरको घनत्व हुन्छ ।

१० फिट बाइ १० फिटको वालमा ४ इञ्जको वाल लगाउँदा ६ सय इँटा लाग्छ, एउटा इँटाको तौल २ किलो भयो भने १२ सय किलो इँटाको तौल हुन्छ । बालुवा र इँटा थप्दा १६–१७ सय किलोको वाल बन्छ । तर २ इञ्चको गोर्खा इको प्यानल लगाउने हो भने एक स्क्वायर फिटमा जम्मा ३ किलोको प्यानल हुन्छ । त्यसरी हेर्दा १७ सय किलोको तौल लाग्ने वालमा गोर्खा इको प्यानल लगाईयो भने जम्मा तौल ३ सय किलोमिटर मात्रै लाग्छ ।

‘भूकम्प आईहाल्यो भने इँटा वा ब्लक लगाउनेहरुलाई १७ सय किलोको वालले थिच्ने भो भने गोर्खा इको प्यानल लगाउनेलाई जम्मा ३ सय देखि साढे ३ सय किलोको वालले मात्रै थिच्छ । अर्थात भूकम्पको जोखिम पनि कम हुन्छ ।’, दुवालले उत्साहित मुद्रामा भने ।

ढुवानी खर्च पनि बचत
‘यति बेला हामी रारामा गोर्खा इको प्यानल प्रयोग गरेर रिसोर्ट बनाउँदैछौं । सुर्खेतबाट एउटा इँटा रारा पुर्याउन १५–१६ रुपिया भाडा मात्रै लाग्छ । एउटा इको प्यानल लैजान जम्मा ३–४ रुपियाँ भए पुग्छ ।’, उनले दावी गरे ।

आइडिया कसरी ?
पुल्चोक इञ्जिनियरिंग क्याम्पसबाट नविकरणीय उर्जा (रिन्युएबल इनर्जी इन्जिनियरिङ)मा सन २००९ मा स्नातकोत्तर पढिसकेका थिए । सन २०११ देखि ख्वप कलेजमा वातावरण र उर्जाबारे पढाउन थालेका दुवालले नेपाल इञ्जिनियरिंग कलेजमा पूर्णकालिन रुपमा पढाउने जागिर थाले । त्यहि क्रममा उनले इँटाको विकल्पका खोज्न थालेका थिए । यद्यपी उनको परिवारसँग अझै पनि ३ वटा इँटा उद्योग छन्, जसलाई उनका दाजुले सम्हालिरहेका छन् ।

‘बहराइनमा अल्खाजा मोहम्मदले २० प्रतिशत लगानी गरेका छन्, हामीले ८० प्रतिशत लगानी गरेका छौँ, २५ करोडको लगानी पुग्यो, कारोबार भने २० करोडको मात्रै छ ।’, उनले भने ।  अल्खाजा मोहम्मदले १० वर्ष अघि देखि नै इको प्यानल बनाएर मध्यपूर्वमा निर्यात गरिरहेका रहेछन् । उनको घरमा काम गर्ने मान्छे पनि नेपाली फेला परे भने उनले नेपालको भ्रमण समेत गरिकेको बुझियो ।

चिनियाँ व्यापारीसँग मेसिन र कच्चा पदार्थ खरिदका क्रममा भएको मोलमोलाईमा चित्त नबुझेपछि उनी बहराइन हानिएका थिए । जहाँ उनले कच्चा पदार्थ र केहि लगानी पनि उपलब्ध गराउने साँझेदार अल्खाजालाई फेला पारे ।

चीनबाट सिकेको पाठ
‘चीन घुम्न जाँदा त्यहाँ यही प्रकृतिका उद्योगहरु देखेँ । चीनियाँहरुको निष्कर्ष रहेछ, यदि सबै चिनियाँहरुलाई इँटाको घर बनाउन दिने हो भने चीनको एक तिहाई मलिलो माटो नासिने रहेछ । त्यसकारण उनीहरु यस्तै उत्पादनको विकल्प खोज्दा इको प्यानल बनाएका रहेछन् ।’, उनले भने । त्यहिँबाट नेपालका लागि पनि इको प्यानल उपयुक्त हुने निष्कर्ष उनले निकालेका थिए ।

जग्गा कारोबारमा लागेको भए धेरै कमाउँथे
उनलाई उद्योग खोल्न छाडेर जग्गा कारोबारमा हात हालेको भए धेरै कमाइन्थ्यो की भन्ने पनि लाग्दो रहेछ । ‘आज भन्दा ५ वर्ष अघि भक्तपुर जगातिको अलि पर १० वर्षका लागि जग्गा लिजमा लिएका थियौं । त्यतिबेला २ लाख आनामा जग्गा आरामले किन्न सकिन्थ्यो । साढे ३ करोड खर्च गरेर उद्योग खोल्नुको साटो जग्गा किनेको भए आजको दिनमा १५ करोड नाफा भैसक्ने थियो ।’,

उनले आफ्ना मनमा उब्जिएका यस्ता सवाल पनि सुनाउन भ्याए । यद्यपी उनलाई गोर्खा इको प्यानल उद्योगले नाम र सम्मान भने दिएकै छ । ‘खल्तिमा पर्याप्त नगद नभएपनि वित्तिय विवरण ठुलो बन्दै गएको छ, अर्को महत्वपूर्ण कुरा भनेको नाम र इज्जत कमाईरहेको छु’, दुवालले खुसी हुँदै सुनाए ।

Advertisement

Advertisement

Advertisement