सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त हुन सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंकमा लामो समय काम गरेका उनलाई कोष सञ्चालक समितिले सोमबार चार बर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

अधिकारी राष्ट्रिय बाणिज्य बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)बाट केही महिनाअघि अवकाश पाएका व्यक्ति हुन् । कोषका यसअघिका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल सक्किन लागेपछि सरकारले सो पदमा नयाँ नियुक्तिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा सिफारिस उपसमिति गठन गरेको थियो । 

Advertisement

उपसमितिले तीन जनाको नाम सिफारिस गरेकोमा सञ्चालक समितिले अधिकारीलाई छानेको हो । उपसमितिमा रोजगारदाताका तर्फबाट गोकुल भण्डारी र ट्रेड युनियनका तर्फबाट सुनिता थापा सदस्य थिए । उपसमितिले कविराज अधिकारी, अशोक पौडेल र लीलाराज ढकाललाई सिफारिस गरेको थियो । 

प्रतिस्पर्धामा रहेका अरु ११ जनालाई पन्छाउँदै चार्टर्ड एकाउन्टेन्ट अधिकारी कार्यकारी निर्देशक बनेका हुन् । श्रमिकहरुको सामाजिक सुरक्षाका लागि गठन भएको कोषमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमति र प्रतिनिधित्वमा काम हुन्छ । कोषले पछिल्लो समयमा आफ्नो दायरा विस्तार गर्दै लगेको छ । 

Advertisement

Advertisement