७९ करोड तिर्न नसकेपछि सुमार्गीको लाइसेन्स खोसियो

Advertisement

काठमाडौं । ७९ करोड बक्यौता तिर्न नसकेपछि अजयराज सुमार्गीको हेलो नेपालको लाइसेन्स खोसिएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले कम्पनीले असार मसान्तसम्मको बक्यौता ७९ करोड ९२ लाख रुपैंयाँ तिर्न नसकेपछि सुमार्गीको दुर सञ्चार सेवा प्रदायक कम्पनी हेलो नेपालको लाइसेन्स खोसेको हो ।

नेपाल दुर सञ्चार प्राधिकरणको सोमबार बसेको सञ्चालक समिति बैठकले हेलो नेपालको लाइसेन्स खोस्ने निर्णय गरेको प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए । संसदको विकास तथा प्रविधि समितिले लाइसेन्सको सर्त अनुसार सेवा प्रवाह नगर्ने तथा बक्यौता समेत नतिर्ने कम्पनीहरुको लाइसेन्स खारेज गर्न निर्देशन दिएको थियो ।

तत्कालिन मध्यपश्चिमाञ्जल विकास क्षेत्रबाट आरम्भ् गरेर सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा सेवा प्रवाह गर्न भन्दै सुमार्गीले हेलो नेपाल मार्फत आधारभूत दुर सञ्चार सेवाको लाइसेन्स लिएका थिए । हेलो नेपाललाई १८०० ब्याण्डविथमा ९ मेगाहर्ज ९०० ब्याण्डविथमा ४.४ मेगाहर्जको ब्याण्डविथ दिईएको थियो । सुमार्गीले नेपाल स्याटेलाइट कम्पनी मार्फत हेलो नेपालका नाममा सेवा दिँदै आएका थिए ।

प्राधिकरणले बक्यौता नतिर्ने वेभ सर्फर र आइटेल कम्युनिकेशनको पनि लाइसेन्स खारेज गरिदिएको छ । स्मार्ट सेलले भने पहिलो किस्ताका लागि प्राधिकरणले तोकिदिएको ३० करोड रुपैंयाँ बुझाएको छ । आगामी ३ महिना भित्र बाँकी बक्यौता तिर्ने प्रतिवद्धता स्मार्ट सेलले व्यक्त गरेको छ । सो अवधीमा पनि बक्यौता नतिरेको खण्डमा स्मार्टको पनि लाइसेन्स खारेज हुने प्रवक्ता अर्यालले बताए ।

स्मार्टले कुल बक्यौता २ अर्ब ५९ करोडमध्ये ३० करोड बुझाएको हो । वेभ सर्फरले ४ करोड ६२ हजार बक्यौतामध्ये १ करोड बुझाएको थियो । तर बाँकी रकम तिर्न भने सकेन् ।  आइटेलको ३३ लाख ९९ हजार बक्यौत थियो । युटिएलले भने असार मसान्तसम्म १ अर्ब ७ करोड ५१ लख रुपैंयाँ बक्यौता तिरेको छैन् । युटिएलले अदालतबाट अन्तरिम आदेश ल्याएर लाइसेन्स खारेजीबाट बचिरहेको छ ।

Advertisement

Advertisement

Advertisement