पाँचसय रुपियाँ बढ्यो सुनको मूल्य, अब प्रतितोला रु. ९९०००

Advertisement

काठमाडौँ । सुनको मूल्य दिन प्रतिदिन बढिरहेको छ । आज पनि प्रतितोला ५ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार रुपियाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । 

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९८ हजार ५ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय २५ रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय २५ रुपियाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए । दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । 

“नेपाली बजारमा मुख्यतः कोरोनाको असरका कारण कारोबार शून्य भएको हो”, उनले भने । तत्काल सुनको मूल्य घट्ने सङ्केत आफूले नपाएको उनले बताए । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए । “अहिले सुन पसलले ‘बोहोनी’ पनि नभएको बताएका छन्”, अध्यक्ष सुनारले भने ।

Advertisement

Advertisement