भदौ पहिलो हप्ता तीन कम्पनीले ल्याउँदैछन् झण्डै एक अर्बको आइपीओ

Advertisement

काठमाडौं । भदौको पहिलो हप्ता तीन वटा कम्पनीले करिब एक अर्बको आइपीओ जारी गर्दैछन् । तिमध्ये जलविद्युत कम्पनी, इन्स्योरेन्स कम्पनी र लघुवित्त छन् । 
भदौ ३ गते लिबर्टी इनर्जीको ३५ करोड र भदौ ४ गते रिलायन्स लाइफको ६३ करोड तथा समाज लघुवित्तको ८६ लाख रुपैयाँको आइपीओ आउँदैछ ।

लिबर्टी इनर्जी
लिबर्टी इजर्नीले  भदौ ३ गतेदेखि आइपीओ जारी गर्दैछ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ३५ लाख ६४ हजार ९ सय ३० कित्ता बराबरको ३५ करोड ६४ लाख ९० हजार ३ सय रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । ७० करोड ६५ लाख ८० हजार रुपैयाँ जारी पुँजी रहेको कम्पनीले २५ प्रतिशत बराबरको आइपीओ जारी गर्न लागेको हो । भदौ ३ गतेबाट खुल्ने आइपीओमा छिटोमा ७ गते र ढिलो भएमा १७ गतेसम्म आवेदन दिन पाइनेछ । 

कम्पनीको प्रति सेयर आम्दानी ५.७४ रुपैयाँ रहेको छ । लिबर्टीले २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनामा लगानी गरेको छ, जुन परियोजनाबाट यसै आर्थिक वर्षको चैतदेखि विद्युत उत्पादन हुँदैछ । ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९ सय २१ रुपैयाँ कुल लागत रहेको आयोजनाको प्रति मेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

 त्यस बाहेक कम्पनीले बाग्लुङमा २४.६ मेगावाट क्षमताको बडिगाडखोला जलविद्युत आयोजना रे लमजुङको लोदोखोलामा १.६ मेगावाटको साना जलविद्युत आयोजनाको सर्वेक्षण लाइसेन्स लिएर अध्ययन गरिरहेको छ । कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

रिलायन्स लाइफको ६३ करोडको आइपीओ
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ४ गतेदेखि आइपीओ निष्काशन गर्दैछ । कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित ६३ लाख कित्ता बराबरको ६३ करोड रुपैयाँको आइपीओ निष्काशन गर्न लागेको हो ।

६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता कर्मचारी र ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ५६ लाख ७० हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याईएको छ ।  आइपीओ निष्काशनका लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक तोकिएको छ । रिलायन्सको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ ।  कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ छ भने जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ । एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको छ भने आइपीओपछि चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये पहिलो आइपीओ रिलायन्सले निष्कशन गर्न लागेको हो । निर्जिवन बीमा कम्पनी तर्फ अजोड इन्स्योरेन्सले आइपीओ निष्काशन गरेर पनि नेप्सेमा कारोबार हुन थालिसकेको छ ।

समाज लघुवित्त 
समाज लघुवित्त वित्तिय संस्थाले पनि भदौ ४ गतेदेखि आइपीओ निष्काशन गर्दैछ । कम्पनीले ८६ हजार कित्ता अर्थात ८६ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । जसमा ४ हजार ३ सय कित्ता कर्मचारीका लागि र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ८० हजार ७ सय कित्ता भने सर्वसाधारणका लागि छुट्याइएको छ । 

कम्पनीले बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । चाँडोमा भदौ ८ गतेसम्म र ढिलो भएमा भदौ ८ गतेसम्म सेयर भर्न पाइनेछ । न्युनतम १० कित्तादेखि अधिकृतम ५ हजार कित्तासम्म सेयर भर्न पाइनेछ ।

Advertisement

Advertisement

Advertisement