२०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै माइतीघर मण्डलामा बृहत प्रदर्शनको तयारी

Advertisement

काठमाडौं । देशभक्त प्रजातान्त्रिक गठबन्धनले २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै माघ ११ गते ११ बजे माइतीघर मण्डलामा बृहत जनप्रदर्शन गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर गठवन्धनले आम जनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त प्रदर्शनमा सहभागी हुन आग्रह गरेको छ ।

देशभक्त प्रजातान्त्रिक गठबन्धनका प्रमुख संयोजक शोभाराम थापाले अहिले देश जटिल संकटमा परेको भन्दै बचाउनका लागि २०४७ सालको संविधान पुनःस्थापनाका विकल्प नभएको तर्क गरे । उनले संवैधानिक राजसंस्थासहितको संविधान पुनःस्थापनाका लागि सबै एकजुट भई आन्दोलनमा आउनुपर्ने बेला भएको बताए । 

Advertisement

थापाले भने, ‘२०४७ सालको संविधान पुनःस्थापना गर्नुपर्छ, त्यसले सबै जना एक ठाउँमा उभिन जरुरी छ ।’ उनले दोस्रो चरणको आन्दोलनको फागुन महिनादेखि गर्ने पनि जानकारी दिए । 

सनातन सस्कृति समाज नेपाल सह–अध्यक्ष तारानाथ लुईटेलले यो संविधान असफल भइसकेको बताउँदै भने, ‘गणतन्त्र आर्यघाटमा पुगिसकेको छ । जनताको अन्तिम सत्र भनेको २०४७ सालको संविधान हो ।’ उनले सनातन हिन्दु राष्ट्र भएन भने यो देश संकट घडीमा जाने जिकिर गरे । अब मोर्चाबन्दीबाट अगाडि बढेर सडक आन्दोलनमा जान उनले सबैलाई आग्रह गरे ।

संयुक्त आन्दोलन परिचालन समितिका संयोजक विक्रमबहादुर बमले मुलुक विषम परिस्थितिमा रहेको तर अहिले सिंहका गिद्द झै पदको लागि दौडिरहेका आरोप लगाए । उनले अहिलेको सरकारले जनताको भावना बुझ्न नसकेको उल्लेख गरे । बमले भने, ‘वर्तमान सरकार फेल भइसकेको छ ।’ मुलुकको अन्तिम विकल्प भनेको राजसंस्था हो भन्दै उनले २०४७ सालको संविधानलाई पुनः स्थापना गर्नमा जोड दिए । 

नेवार एकता समाज समिति अध्यक्षका राजु व्यन्जनकारले ९ दलीय गठबन्धन गर्नुको उद्देश्य २०४७ सालको संविधान पुनःस्थापना गर्न भएको बताए । उनले राजसंस्था पुनःस्थापना गर्नका लागि काठमाडौ भक्तपुर ललितपुरका नेवारवासीहरु एक भएर आन्दोलनमा आउने जानकारी दिए ।

कार्यक्रममा राप्रपा नेपालका प्रवक्ता तेजराज भुजेलले युवाहरुको एक मात्र पार्टी राप्रपा नेपाल भएको बताए । २०४७ सालको संविधानमा कुठाराघात गरेको भन्दै गणतन्त्रको माग जनताले नराखेको जिकिर गरे ।

हाम्रो नेपाल पार्टीका संयोजक भैरवबहादुर कार्कीले अब देश जोगाउन २०४७ सालको संविधान पुनःस्थापना गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले अहिलेको संविधान असफल सावित भइसकेको बताए । 

गठबन्धनकी नेता शोभा तिमिल्सिना खड्काले अहिलेको सरकार निरंकुश भएको बताइन् । उनले भनिन्, ‘राष्ट्रियता बचाउ र राष्ट्रबादी हो भने एक ठाउँमा उभिन जरुरी छ ।’ उनले राजसंस्था निरंकुश हो कि अहिलेको सरकार निरंकुश हो सबै जनताले थाहा पाईसकेको बताउँदै २०४७ सालको संविधान पुनःस्थापनाले देशले निकास पाउने बताइन् ।

Advertisement

Advertisement