जलविद्युत कम्पनीको शेयर मूल्य किन सुस्त वृद्धि छ ?

Advertisement

काठमाडौं । एक बर्षअघिसम्म १३ वटा जलविद्युत कम्पनीको शेयर मूल्यमा गिरावट भई एक सय रुपियाँभन्दा तल पुगेका थिए । आज तिनीहरुको मूल्यमा केही सुधार आएका छन् । गत बर्ष फागुन महिनामा एक सय रुपियाँभन्दा बढि रहेका जलविद्युत कम्पनीहरुको मूल्य अहिले करिव पाँचसय रुपियाँको हाराहारीमा छन् । 

तर पनि जलविद्युत कम्पनीहरुको मूल्यमा अपेक्षाकृत सुधार आउन सकेको छैन् । अन्य क्षेत्रका कम्पनीहरुको शेयर मूल्यमा उछाल आइरहेको बेला जलविद्युत समूहका कम्पनीहरुको वृद्धि भने निकै सुस्त देखिन्छ । यस्ता कम्पनीहरुको मूल्यमा खासै सुधार आउन नसक्नुका विभिन्न कारणहरु देखिन्छन् । 

Advertisement

एक बर्षअघिसम्म कतिपय जलविद्युत कम्पनीहरुले बिद्युत उत्पादन सुरु गरेका थिएनन् । सर्वसाधारणलाई शेयर बिक्री गरिसकेका कम्पनीहरुमा पनि धेरैको चर्को उत्पादन लागत, कम्पनी व्यवस्थापनबाट हुने फजुल खर्च, निर्माण कार्यमा हुने ढिलाई, विद्युत उत्पादन सुरु भएर पनि राष्ट्रिय प्रसारणलाइनमा जोडिन ढिलाई हुनु जस्ता कारणले गर्दा बजारमा त्यस्ता कम्पनीहरुको शेयर मूल्यमा नकारात्मक असर पर्दै आएको थियो । 

जलविद्युत कम्पनीहरुलाई त्यतिबेला राष्ट्रिय कम्पनीको रुपमा पनि नराखिनुले शेयर मूल्य आधार मूल्यभन्दा तल गएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । उनका अनुसार अहिले जलविद्युत कम्पनीहरुको शेयर मूल्यमा सुधार आउनुको कारण समग्र बजार सकारात्मक हुनु, यसवर्ष मनसुन राम्रो भई विद्युत उत्पादनमा खासै असर नगर्नु, कम्पनीहरुले उत्पादन गरेको बिजुली खेर जान नदिन नेपाल विद्युत प्राधिकरणबाट प्रतिवद्धता आउनु जस्ता कारणहरुले पनि काम गरेको छ । 

साथै, यसअघि बैंक वित्तीय संस्थाले १४–१५ प्रतिशतसम्म ब्याजदरमा लगानी गर्दै आएकोमा पछिल्ला दिनमा उनीहरुले ब्याजदरलाई एकल अंकमा झारी आठ प्रतिशतको हाराहारीमा ऋण प्रवाह गर्न थालेकाले पनि जलविद्युत कम्पनीहरुको नाफामा सुधार आई शेयर मूल्यमा क्रमसः वृद्धि हुन थालेको छ । यस्ता कम्पनीहरुको शेयर मूल्यमा तीब्र सुधार ल्याउन यसअघि सरकारले प्रतिवद्धता गरेअनुसारको प्रतिमेगावाट ५० लाख रुपियाँको प्रोत्साहन योजना कार्यान्वयन हुनुपर्ने उनको भनाई छ । 

रौनियार भन्छन्, ‘रामशरण महत अर्थमन्त्री हुँदा प्रतिमेगावाट ५० लाख रुपियाँ भ्याट छुट दिने जुन प्रतिवद्धता गरिएको थियो, त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् । त्यो कुरा कार्यान्वयन हुनुपर्छ भनेर जलविद्युत कम्पनीहरुले पनि कुरा उठाइरहेका छन् । त्यो रकम पाउनुपर्ने कम्पनीहरुले पाए भने शेयर मूल्यमा पनि निकै वृद्धि हुनेथियो ।’

उनले जलविद्युत कम्पनीमा गरिएको लगानी सुरक्षित रहेकाले डराउनुनपर्ने बताए । तर, पाँच वर्ष अगाडी यस क्षेत्रमा लगानी गरेर पनि प्रतिफल नपाएका लगानीकर्ताहरुले प्रतिफल पाउन नसकेकोप्रति रौनियारले असन्तुष्टि जनाए । 

गत वर्षको फागुन ४ गतेसम्म प्रतिकित्ता एक सय रुपियाँभन्दा कम मूल्य भएका १३ जलविद्युत कम्पनीहरु थिए । त्यस समयमा सबैभन्दा कम शेयर मूल्य भएको कम्पनी खानीखोला जलविद्युत कम्पनी रहेको छ । यस कम्पनीको त्यो बेलाको शेयर मूल्य प्रत्तिकित्ता ५३ रुपियाँ थियो । अहिले आइपुग्दा उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६० रुपियाँले बढेर ११३ रुपियाँ पुगेको छ ।  
गत वर्ष फागुन ४ गतेसम्म एक सय रुपियाँभन्दा बढि मूल्य भएका जलविद्युत कम्पनीको शेयर मूल्य बढेर अहिले लगभग पाँच सयको हाराहारीमा पुगेका छन् । 
गत वर्षको फागुनयता पाँच वटा नयाँ जलविद्युत कम्पनी पब्लिक कम्पनी भएर आएका छन् ।

 

Advertisement

Advertisement