धितोपत्र बोर्डको अध्यक्ष छिटो चयन गर्न अर्थमन्त्री पुनको निर्देशन
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । पुँजी बजारको नियामकीय निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष छिटो चयन गर्न अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको चालू आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा अर्थमन्त्री पुनले अर्थसचिव कृष्णहरि पुष्करलाई पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको नेतृत्व छिटो चुन्न निर्देशन दिएका हुन् ।

 ‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविहीन हुनु त्यति राम्रो होइन,’ मन्त्री पुनले भने, ‘अध्यक्षका लागि आवेदन प्राप्त भइसकेकाले तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’ 

Advertisement

धितोपत्र ऐनको व्यवस्थाअनुसार अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिले अध्यक्षका लागि आवेदन माग गरिसकेको छ ।

बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले १९ दाबेदारमध्येबाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । तर, आवेदनको अन्तिम म्याद सकिएको करिब २ सातासम्म समितिले छनौट सूचीसमेत तयार पारेको छैन । 

बोर्ड अध्यक्ष हुनका लागि कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था धितोपत्र ऐनमा रहेको छ ।

Advertisement

Advertisement