म्यानमारको प्रजातान्त्रिक आन्दोलनमा नरसंहारः सैनिक सत्ताद्धारा एकै दिन ९१ जनाको हत्या

Advertisement

काठमाडौं । म्यानमारको प्रजातान्त्रिक आन्दोलनविरुद्ध सैनिक सत्ता जुन्ताले दमन बढाएको छ । प्रजातन्त्रका लागि जनताको प्रदर्शन चर्किंदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन बढाएको हो । 

शनिबार एकै दिन देशभर ९१ जना प्रदर्शनकारीको नरसंहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपातयुक्त दिन बनेको छ। 

Advertisement

राजधानी सहर नेप्याइडमा आयोजित सेनाको कार्यक्रममा कुनै पनि किसिमको अवरोध गर्न खोज्नेलाई टाउको र ढाडमा गोली हान्न सकिने चेतावनी दिइएको थियो। तर, त्यसको बेवास्ता गर्दै यांगुन, मन्डलेलगायत सहरमा नागरिक सडकमा उत्रिएपछि नरसंहार गरिएको हो । आन्दोलनमा हजारौं घाइते भएका छन्। 

सैनिक सत्ताविरुद्ध आन्दोलनमा उत्रिने तीन हजारभन्दा बढीलाई पक्राउ गरिएको छ । शुक्रबारसम्म मृत्यु हुनेको संख्या ३२८ नाघेकोमा शनिबार झण्डै सय जना थपिएका हुन् । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले मुख्य सहरमा मारिनेको संख्या अझै धेरै हुनसक्ने अनुमान गरेको छ । सो संस्थाले शव बोक्ने तथा घाइतेको उद्धार गर्ने स्वयंसेवक र एम्बुलेन्सहरूलाई कुटपिट र अवरोध गरेको जनाएको छ। प्रदर्शनमा मारिनेमा पाँच बर्षीय बालकसमेत छन् । हालसम्मको प्रदर्शनमा २० जना बालबालिकाको ज्यान गइसकेको छ । 

Advertisement

Advertisement