मेलम्चीको पछिल्लो जानकारी लिंदै प्रधानमन्त्रीले भने- ‘यांग्री र लार्केको काम तत्काल शुरु गर्नू’

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिएका छन् ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् ।  

Advertisement

हाल मेलम्चीबाट न्युनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका यांग्री खोलाबाट १७ करोड  लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिन्छ । यसबाट उपत्यकामा पछि थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ । 

प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिएका थिए ।  

राजधानीबासिको लामो समय अघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गते देखि औपचारिक रुपमा  मेलम्चीको पानी वितरण थालिएको थियो । 

प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ । मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न  करिब १० दिन, परिक्षणका लागि केही दिन र  पुरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने  छ । 

त्यसअवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचना अनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरुले दिए । ‘वर्षा सुरु भएपछि करिब ४ करोड लिटर थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रै सँग चलाउन सकिन्छ’, बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले बताए ।   
 

Advertisement

Advertisement