कालो धन कालै हुन्छ, पञ्चायतकालदेखिको कालो धन जफत हुनैपर्छः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले कालो धन कालै हुने भन्दै यस्तो धनको स्रोत नखोज्ने सरकारको निर्णयको आलोचना गरेका छन् । 

प्रतिस्थापन बजेटमार्फत स्रोत नखुलेको सम्पत्ति लगानी गरेमा त्यसको स्रोत नखोजिने सरकारको निर्णयसँगै कालो धनको व्यापार गर्ने गरेको आरोप खेप्दै आएका अजय सुमार्गीले २८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजना बनाउन मंगलबार वित्तीय व्यवस्थापन गरेको समाचार बाहिर आएसँगै लिङदेनको प्रतिक्रिया आएको हो । सुमार्गी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकाउन्टेन्टको रुपमा चिनिन्छन् । 

Advertisement

लिङदेनले कालो धन उत्पादनमूलक क्षेत्रमा लगानी गर्दैमा त्यस्तो सम्पत्तिको स्रोत नखोज्ने कुरा देश र जनतामाथिको बेइमानी हो भन्दै पञ्चायतकालदेखिको कालो धन जफत हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘देश र जनता लुट्ने अनि त्यसरी लुटबाट थुपारेको कालो धनलाई वैधानिकता दिन उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा लगानीको स्रोत नखोज्ने भन्नु देश र जनतामाथि बेइमानी हो। कालो धन कालो नै हो । पंचायतकालदेखिका सबै उच्चपदस्थ नेता कर्मचारीहरुको सम्पत्ति छानवीन गरी कालो धन जफत गरौं ।’

Advertisement

Advertisement