आठ वटा नयाँ डण्डी उद्योगमा १६ अर्ब लगानी थपियो

Advertisement

काठमाडौं । साढे ३ अर्ब लगानीमा बाँकेको गनापुरमा भर्खरै सञ्चालनमा आएको अम्बे समूहको डन्डी उद्योगबाट दैनिक १ हजार मेट्रिकटन डन्डी उत्पादन हुन्छ । यही समूहको भैरहवाको उद्योगबाट अम्बे ब्रान्डमा दैनिक ५ सय मेट्रिकटन डन्डी उत्पादन हुँदै आएको अम्बे ग्रुपका सञ्चालक हरि न्यौपानेले बताए । उनी भन्छन्, ‘एउटै ब्रान्डबाट यति ठूलो भोल्युममा डन्डी उत्पादन गर्ने अम्बे पहिलो कम्पनी बनेको छ ।’

सारडा र राठी समूह मिलेर गत वर्ष मोरङमा १ अर्ब लगानीमा प्रिमियर स्टिल उद्योग सञ्चालनमा ल्याएका छन् । सौरभ समूहले आगामी वैशाखदेखि सर्वोत्तम ब्रान्डमा बिलेट र डन्डी बजारमा ल्याउँदै छ । ३ अर्ब लगानी रहेको सर्वोत्तम स्टिल उद्योगबाट वार्षिक ३ लाख मेट्रिकटन बिलेट र १ लाख मेट्रिकटन डन्डी उत्पादन हुनेछ ।

Advertisement

पछिल्लो अढाई वर्षमा मात्र ठूलो लगानीमा ८ वटा डन्डी उद्योग थपिएका छन् । नयाँ खुलेका डन्डी उद्योगमा १६ अर्बभन्दा बढी लगानी भएको नेपाल स्टिल तथा रोलिङ मिल एसोसिएसनका महासचिव हरि न्यौपानेले बताए । सर्वोत्तमलगायत तीन ठूला नयाँ डन्डी उद्योग सञ्चालनको तयारीमा छन् ।

भूकम्पपछि केही पुराना स्थापित डन्डी उद्योगहरूले पनि लगानी थपेर क्षमता विस्तार गरेका छन् । अहिले साना–ठूला गरी नेपालमा २५ डन्डी उद्योग सञ्चालनमा रहेको  एसोसिएसनका उपाध्यक्ष किरण साखः बताउँछन् । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement