धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ शुरु भारतीय पर्यटकलाई आकर्षण मुल उद्देश्य

Advertisement

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत्र २५ गते शुक्रवार देखि धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’  शुरु भएको छ । 

नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिमको आयोजनामा मार्ट आयोजना गरिएको हो । 

Advertisement

मार्टको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले गरेका थिए । पर्यटन बोर्डको सीईओ डा. धनन्जय रेग्मीले ट्राभल मार्टको अवधारणा अघि सार्दै बोर्डको योजनामा राखेअनुसार अहिले देशका विभिन्न ठाउँमा आयोजना गरिँदै आएको छ ।  

कार्यक्रममा मन्त्री आलेले सुदरपश्चिम पर्यटनका दृष्टिले अथाह सम्भावना भएको क्षेत्र भएको बताउँदै कोभिडपछि पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेकोले मार्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुने बताए ।

उनले पश्चिममा रहेका प्राकृतिक विविधतालाई मध्यनजर गर्दै आगामी बजेटमा १० अर्बभन्दा धेरै बजेट विनियोजन गर्ने तयारी गरेको पनि बताए । मन्त्री आलेले आगामी आर्थिक वर्षको बजेटमार्फत पश्चिममा रहेका पर्यटकीय स्थलहरुको विकासमा जोड दिइने बताए ।

उनले विगतमा पश्चिमका लागि एक अर्ब रुपियाँ बराबरको बजेटसमेत निकासा नभएको अवस्थामा अब भने आफ्नै पहलमा अधिकतम बजेट विनियोजना गराउने र अतिक्रमण भएका सार्वजनिक जग्गा समेत फिर्ता ल्याउने बनाएको बताए । 

हालसम्म नेपालबाट मात्र नभई बाहिर देशका पर्यटकले समेत पर्यटन विकासका लागि सहयोग गर्दै आएको आलेले बताए । उनले जहाँ जे विशेषता छ सोही ठाउँका मौलिकपनको प्रचार सबैतिर खाँचो रहेको बताए । उनले धनगढीबाट सिधै पोखरमा मात्र नभई वीरगञ्जसम्मको सिधा उडान आफ्नै पालमा सञ्चालन गर्ने पनि बताए । 

धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले सुदुरपश्चिममा पर्यटकहरुको रोजाईमा पर्न सक्ने थुप्रै रमणीय, घुम्नलायक ठाउँहरु भएपनि प्रचारप्रसारको अभावमा ती ठाउँ ओझेलमा परेको अवस्थामा आयोजना गरिएको मार्टले पर्यटन व्यवसायीहरुको ध्यानाकृष्ट भएको र पर्यटकीय स्थलमा बाह्य पर्यटकहरुको आकर्षण बढ्ने अपेक्षा गरिएको बताए ।

पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने आफूहरुको योजना रहेको बताउँदै सोही योजनाअनुसार मार्ट आयोजना गरिएको बताए । यस ट्राभल मार्टले सुदुरपश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको ऐरले बताए । 

नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले ट्राभल मार्टले सुदूरपश्चिमका पर्यटकीय प्याकेज, गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार तथा प्रवर्द्धन हुन गई भारतीय पर्यटकहरुको आगमन संख्या बढ्न जाने र आन्तरिक पर्यटन गतिविधिहरु समेत बढ्न जाने अपेक्षा गरिएकोे बताए । 

नाटा फार वेष्टका अध्यक्ष तथा मार्ट संयोजक माया प्रकाश भट्टले मार्टको पहिलो दिन उद्घाटनबाट सुरु भई प्रदेशको पर्यटकीय उपजको व्यवसायिकरण गरी आयआर्जनसम्बन्धी कार्यपत्र प्रस्तुत हुने, त्यसपछि आमन्त्रित स्वदेशी तथा विदेशी अथितिसँग व्यवसायिक अन्तरक्रिया तथा छलफल हुने जानकारी दिए । 

फारवेष्ट ट्राभल मार्ट २०२२ मा सिमावर्ती भारतीय शहरहरु लखिमपुर, बरेली, रुद्रपुर, नैनीताल, देहरादुन र भारतको राजधानी दिल्लीबाट करिब ६० जना टुर अपरेटरहरुलाई क्रेताको रुपमा सहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरुबीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवर्द्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बी टु बी हुनेछ । 

मार्टस्थलमा सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन, नौवटा जिल्लाका स्टलका साथै टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुका आकर्षक स्टलहरु निर्माण गरिएको छ । 

प्रेम आलेको कटाक्ष– ओली एक क्विन्टलको ढक हो कि एक ग्रामको, वैशाख ३० मा थाहा हुन्छ

Advertisement

Advertisement