चार दाजुभाइ र पाँच दिदीबहिनीकी सदस्य ओमदेवी मल्लको तिहार अनुभव र मनाउने फरक शैली

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी पहिलो महिला अध्यक्ष हुन् ओमदेवी मल्ल । लामो समयदेखि सहकारी अभियानमा जोडिएकी र सहकारी शिक्षामा डिप्लोमासम्मको अध्ययन गरेकी मल्लको काँधमा महासंघको नेतृत्व गर्ने जिम्मेवारी छ । 

राजनीतिले गाँजेको सहकारी महासंघको नेतृत्वमा व्यवसायिक चरित्रको मान्छे आउनु र त्यसमाथि महिलाले नेतृत्व नै पाउनु ठूलै उपलब्धी हो । यद्यपि सहकारीको नाममा राजनीति गर्दै आएका र महासंघमा पडक जमाएर बसेकाहरुबाट महासंघलाई मुक्त गर्न नसक्दा सहकारी क्षेत्रमा ठूलो संकट आउँदा समेत समस्या समाधानका लागि ठोस भूमिका खेल्न मल्ललाई सकस भएको छ । 

Advertisement

यतिबेला देशको सहकारी क्षेत्र निकै कठिन परिस्थितिबाट गुज्रिरहेको छ । दल र नेताहरुले आफ्नो स्वार्थ पूर्ति गर्ने र राजनीति गर्ने माध्यम सहकारीलाई बनाएका छन् । त्यसको शिकार लाखौं सहकारीका सदस्यहरु भएका छन् । समस्त वित्तीय क्षेत्रमा समस्या आउन थालेपछि सहकारी संस्थाहरुमा पनि समस्या आउन थाल्यो । कतिपय सहकारीका सञ्चालकहरुले सुशासनमा रहेर काम गर्न नसक्दा पनि समस्या आउन बल पुग्यो । तर सरकारले सहकारी संस्थाहरुमा ताला लगाउँदै बचतकर्तालाई आंशिकरुपमा मात्रै भए पनि रकम फिर्ता गर्ने बाटो बन्द गरिदिएको छ । उल्टै समस्याग्रस्त घोषणा गरिएका सहकारीको सम्पत्ति केही सरकारी कर्मचारी र सहकारीका टाठाबाठा सदस्यले लुटेर खाने माध्यम बनेको छ । 

सरकारद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार कात्तिक १२ गतेसम्म २२ वटा सहकारी संस्था समस्याग्रस्त घोषणा गरिएका छन् जसमा कतिपय कतिपय व्यवस्थितरुपमा सञ्चालन भएका संस्था समेत छन् । यी संस्थाबाट ६२ हजार ७६० जना पीडित बचतकर्ताबाट ३९ अर्ब ९३ करोड ५६ लाख रुपियाँ माग दाबी परेको सहकारी पक्षको भनाई छ । हालसम्म कार्यालयले छ हजार ५९३ जना पीडित बचतकर्ताहरुको एक अर्ब ५१ करोड ५३ लाख रुपियाँ मात्र बचत फिर्ता गरेको दावी गरेको छ ।  

यस्तो कठिन अवस्थामा गुज्रिरहेको सहकारी क्षेत्रको समस्या व्यवस्थापनका लागि माउ संस्थाको नाताले महासंघकी अध्यक्ष मल्ल दौडधुपमा लागेकी छन् । ‘दैनिकजसो सहकारी संस्थाहरुको काम, भेटघाट, डेलिगेसन भन्दाभन्दै कहिलेकाहीं आफ्नै व्यक्तिगत जीवन चाहिँ बिर्सिएको आवास हुने रहेछ । अस्ति मात्र हामीले सहकारी क्षेत्रको सुधारका लागि नीतिगत तहमा नै बहस सिर्जना गर्नेगरी ‘नीति संवाद’ कार्यक्रम गर्यौं । फेरि अरु कार्यक्रमहरुमा दौडिरहनु परेको छ’ उनले भनिन् । 

यति बेला नेपालीहरुको घर आँगनमा दीपावली (तिहार)ले छपक्कै छोपेको छ । सहकारीकै काममा सक्रिय मल्ल बाहिरको कामले घरतिर खासै ध्यान दिन सकेकी छैनन् । उनी भन्छिन्, ‘धनतेरसको दिन पनि दिनभर राष्ट्रिय सहकारी विकास बोर्डको बैठकमा बस्नुपर्यो । बेलुका घर जाँदा पो थाहा पाए आज धनतेरस हो । केही न केही मालवस्तु भाँडावर्तन किन्नुपर्ने थियो । मैले भुलें । धन्न श्रीमानले किनेर ल्याउनु भएछ । लक्ष्मी पूजाको दिन पनि धेरै काममा जानुपर्यो । एउटा सहकारीको भवन उद्घाटनमा जानुपर्यो । दिउँसो महासंघमा नै लक्ष्मी पूजा गरियो । सबै सकेर फेरि घरमा आएर पूजा गरियो ।’ 

सार्वजनिक कार्यमा सक्रिय महिलाहरुलाई अरु गृहिणीलाई जस्तो सहज नहुने मल्लको अनुभव छ । ‘बाहिरको काम, जिम्मेवारी हेर्नुपर्ने र घरको पनि व्यस्था हेर्नुपर्ने हुँदा अरु गृहिणीहरुलाई जस्तो महिला नेतृत्वलाई त्यति सहज छैन । दिउँसो बाहिरको काम सकेर कतिखेर घर जाउँ र उताको व्यवस्था मिलाउ भन्ने जस्तो हुन्छ । अझ यो चाडपर्वहरुले त निकैनै दौडधुप बढाएको हुन्छ’ उनले थपिन् । 

तिहारको योजना र अनुभव
अध्यक्ष मल्लले तिहारका लागि विशेष योजना नरहेको बताइन । गत वर्षहरुमा जस्तै घर परिवारमा बसेर रमाइलो गर्ने र मनाउने उनले बताइन् । तनहुँको आबु–खैरेनीमा दाइहरु रहेकाले रहेकाले उतै जाने योजनामा रहेकी मल्लका विदेशमा रहेका दाजुभाइ समेत अहिले नेपाल आएका छन्  । मल्लका अनुसार उनका चार दाजुभाइ र पाँच दिदीबहिनी छन् । तीन दाजुभाइ बाहिर छन् । एक जना साइलो दाइ मात्र नेपालमा छन् । अमेरिकामा बस्दै आएका दुई दाजुभाइ यसपटक नेपाल आएका हुन् । पाँच जना दिदीबहिनीमा ठूली दिदी र ओमदेवी मल्ल मात्र नेपालमा छन् । अरु पनि बाहिरै छन् । 

यसपटक दुई दिदीबहिनी मिलेर तीन दाजुभाइलाई टीका लगाउने तयारीमा रहेकी ओमदेवी मल्ल माइत लान र घरका लागि आवश्यक फलफूल, मसला, उपहार समय किनिसकेकी छन् । 

दिदीबहिनीले सल्लाह गरेर प्रायः हरेक बर्ष तिहारमा मल्ले दाजुभाइलाई लगाउने ब्राण्डेड कपडा उपहार दिन्छन् । दाजुभाइले भने टीका लगाएर नगद नै दिदीबहिनीलाई दिन्छन् । ‘हामीले लगाउने कपडामा उनीहरुलाई खासै ‘आइडिया’ नहुनेहुँदा नगदै दिनुहुन्छ’ मल्ले भनिन । जिन्सी उपहार दिँदा भाँडावर्तन वा गहना हुने उनले बताइन् । 

तिहारको धार्मिक एवं सांस्कृतिक महत्व
‘दशैंतिहार पारिवारिक जमघट र मेलमिलापको पर्वहरु हो जस्तो मलाई लाग्छ । अझ तिहारको आफ्नै विशेष खालको महत्व छ । झिलिमिली तिहार, विभिन्न प्राणीहरुको पूजा र भाइ पूजाले यसको विशेष बनाएको छ’ मल्ल भन्छिन् । 

तिहार दाजुभाइ दिदीबहिनीबीचको सम्बन्ध र आत्मियता कायम राख्ने विशेष चाड हो भन्दै उनले वर्ष दिनसम्म नभेटेका र नबोलेका दाजुभाइ दिदीबहिनी पनि भेट हुने र सम्बन्ध स्थापित गर्ने यो अवसर भनिन् । ‘यदि दाजुभाइ दिदीबहिनी बीचमा सम्बन्ध चिसिएको छ, बोलचाल छैन भने पनि यो दिन माफि लिनेदिने उपयुक्त अवसर पनि हो’ उनले भनिन् । 

तर पछिल्ला बर्षहरुमा चाडपर्वहरु निकै तडकभडक हुनथालेकोमा मल्लले चिन्ता पटक गरिन् । ‘आवश्यकता र औचित्यका आधारमा भन्दा पनि देखाउने प्रवृत्ति हाबी हामीहरुमा भएको हो कि ?’ उनको प्रश्न छ । एउटै परिवारभित्र पनि हुनेले तडकभडक गर्ने र न्यून आयस्तरकोले सोही अनुसार गर्न नसक्दा समस्या आउने गरेको मल्ले बताइन् । 

समयसापेक्ष हाम्रा धर्म, संस्कृति, परम्परालाई परिमार्जन गर्न आवश्यक रहेको मल्लले बताइन् । उनले भनिन, ‘अब पूरानै तौर तरिकाले, परम्परा भनेर हुँदैन । देउँसी भइलोको नाममा मनलाग्दी पैसा माग्ने, चन्दा अशुल्ने गतिविधि पनि देखिन्छ । यस्तो ठिक होइन । यस्तो क्रियाकलापलाई परिमार्जन गर्न आवश्यक छ ।’ 

undefined

 

null

Advertisement

Advertisement