Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् । 

शुक्रवार संसदको अर्थ समितिको बैठकमा उनले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकशितबाट विकासोन्मुखमा स्तरोन्नती गर्ने लक्ष्य राखेकाले त्यसको लागि अबौं लगानी गर्नुपर्ने भएको बताए । 

Advertisement

मुलुकको स्तरोन्नती गर्नको लागि अहिले बजेटमा छुट्याएको पुँजीगत तथा समग्र खर्चले मात्रै लक्ष्य हासिल हुने दाबी गर्दै शर्माले सन् २०२६ सम्म विकशित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऋण लिनुपर्ने आवश्यक रहेको बताए । 

उनले परियोजनाहरुमा ऋण लिने र खर्च गर्ने परिपाटी बदल्नुपर्ने आवश्यकता रहेको बताए । सरकारले लिएको धेरै ऋण उत्पादनमूलक नभएर खर्च बढाउने खालको रहेको बताए । मन्त्री शर्माले अहिले आन्तरिक र वाह्य ऋण गरी १७ खर्ब ३७ अर्ब ऋण रहेको बताए । 

सरकारले यो वर्ष मात्र ४० देखि ४५ अर्ब रुपियाँ ऋण भुक्तानी गर्न लागेको मन्त्री शर्माले बताए । उनले ऋण भुक्तानी गर्नु परेकाले अहिलेको बजेटमा पुँजीगत खर्च भन्दा चालुु खर्चमा वित्तीय व्यवस्थापन धेरै भएको बताए । 

शर्माले भने, ‘आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने भएको हुँदा सरकारका दुई वटा उद्देश्यहरु रहेका छन् । एउटा कम विकसित मुलुकलाई स्तरोन्नती गर्ने कुरा गरेका छौंं  जसको लागि ठूलो लगानी आवश्यक छ । अर्बौंको लागानी गर्न आवश्यक छ । अहिले बजेटमा छुट्टिने पुँजीगत तथा समग्र खर्च जति छ त्यो खर्चले मात्रै हामीले लक्ष्य हासिल गर्न सक्दैनौं । हामीले २०२६ सम्ममा स्तरोन्नती गर्ने लक्ष्य राखेका छौं । त्यो लक्ष्य पूरा गर्नको लागि सरकारलाई ऋण लिन आवश्यक छ । उत्पादनमूलक नभएर सामान्य परियोजनाहरुमा ऋण लिने र खर्च गर्ने परिपाटी छ, त्यसलाई हामीले बदल्नुपर्छ ।’

उनले थपे, ‘अहिले सरकारले परियोजनाको आधारमा ऋण लिने र परियाजना आफैले नै ऋण तिर्नसक्ने गरी ऋण लिँदा त्यसको भार जनतामा पर्दैन् । परियोजनाले नै ऋण तिर्न सक्छ । त्यस्तो गर्दा हाम्रो पुँजी, पूर्वाधार र जिडिपी समेत योगदान गर्ने गरी ऋण दिनुपर्छ भन्ने धारणा रहेको छ । अहिले नेपालको आन्तरिक ऋण आठ खर्ब ६३ अर्ब र वाह्य ऋण नौ खर्ब करिव ८५ अर्ब रहेको छ । १७ खर्ब ३७ अर्ब अहिले ऋण रहेको छ । यो वर्ष नै सरकारले ४० देखि ४५ अर्ब रुपियाँ ऋण भुत्तानी गदैछौं । त्यसले पनि अहिलेको बजेटमा पुँजीगत खर्च भन्दा चालुुखर्च वित्तीय व्यवस्थामा व्यवस्थापन गर्नु परेको छ । यो वर्ष नै ऋण तिर्न पालो परेको रहेछ । हाम्रो जीडीपीमा योगदान गर्ने गरी र देशलाई विकाशोन्मुख देशमा विकशित गर्नको लागि ऋण लगानीको आवश्यक छ ।’

Advertisement