विद्युत आपूर्तिका कारण लामो समयदेखि बन्द उदयपुर सिमेन्ट सञ्चालनमा आएकै दिन चार मजदुर घाइते

Advertisement

काठमाडौं । दैनिक ८५० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योग संचालनमा आएको भोलिपल्टै (सोमबार) चार मजदुर घाइते भएका छन् । 

गत आइतबारदेखि संचालनमा आएको उद्योगमा रहेको मेसिनको ‘साइकोन’ जाम भएपछि खोल्ने क्रममा सिमेन्टको तातो धुलो झरेर पोल्दा चारजना मजदुर (विनोद श्रेष्ठ, विदुर खड्का, दीपेन्द्र चौधरी र भीमबहादुर भुजेल) घाइते भएका हुन् । चट्याङले ट्रान्सफर्मरमा हानेपछि विद्युत आपूर्ति बन्द भए पनि नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर मर्मतमा ढिलाई गरिदिँदा लामो समय उद्योग बन्द हुन पुगेको थियो ।  

Advertisement

उदयपुर सिमेन्ट उद्योगका सूचना अधिकारी लक्ष्मणप्रसाद पोखरेलका अनुसार मेसिनको पार्टस् ‘साइकोन’ जाम भएर खोल्ने क्रममा तातो सिमेन्टको धुलो एक्कासी माथिबाट खस्दा चार जना मजदुर घाइते भएका थिए । घाइतेमध्ये दुई जना भने सामान्य घाइते भएकोले भोलिदेखि काममा फर्किने र केही गम्भीर घाइते दुई जनालाई भने उपचारका लागि काठमाडौं ल्याइएको बताए । 

उनले बढी घाइते भएका दुई जनालाई राम्रो उपचारका लागि काठमाडौं पठाएको बताए । अहिले उनीहरुको अवस्था सामान्य हुँदै गएको पोखरेलको भनाई छ । गत असार ९ गतेदेखि यद्योग बन्द हुन पुगेको थियो । उद्योग बन्द हुँदा दैनिक एक करोड रुपियाँ घाटा व्यहोर्दै आएको उदरपुर सिमेन्ट उद्योग झण्डै एक महिनापछि संचालनमा आएको बेलामा दुर्घटना भएको हो  ।

पोखरेलले उद्योग धेरै दिन बन्द भएको हुनाले पूर्णरुपमा संचालन हुन अरु दुई–चार दिन समय लाग्ने बताए । उनले भने, ‘उद्योगको क्षमता दैनिक ८५० मेट्रिक टन हो । तर, ३०–३२ वर्ष पूरानो फ्याक्ट्री त्यही हिसाबले चल्ने कुरा पनि भएन । तर पनि दैनिक पाँच–छ सय टनको हिसाबले चलिराखेको छ । लाइनको कारणले धेरै समयदेखि मेसिन बन्द भएर केही समस्या आएकाले हाल दुई–चार दिन भने कम उत्पादन भइराखेको छ ।’ 

उनले हाल उद्योगबाट उत्पादन क्षमतालाई विशेष ध्यान दिएको बताए । पोखरेलले तीन दिन अगाडिदेखि थालिएको उत्पादित सिमेन्टको बिक्री भने भोलिदेखि सुरु हुनेछ । हाल उदयपुर सिमेन्ट उद्योगमा स्थायी मजदुरको संख्या ३०२ जना रहेको छ भने अस्थायी ज्यालादारी मजदुर, सुरक्षा गार्ड आदि गरी एक–डेढ सय जना रहेको बताए । 

Advertisement

Advertisement