चितवन । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको ‘एड्भान्स टेक्नोलोजी ब्रिज’ (सिग्नेचर) पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने उक्त नयाँ पुल शिलान्यास गर्न लागेका हुन् । भरतपुर महानगरपालिकातर्फ पुलको शिलान्यास गरिन लागिएको हो । पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक केबलस्टेट ब्रिज निर्माण गर्न लागिएको हो ।
सडक विभागको पुल महाशाखाका डिभिजनल इञ्जिनियर एवं यस पुलको योजना प्रमुख कृष्ण अधिकारीका अनुसार पुल ४ सय २० मिटर लामो हुनेछ ।
जम्मा चार वटा पिल्लर रहने यस पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी बनाइएको छ । उनले भने, ‘पुलको बीचमा दुई पिल्लरबीचको भाग दुई सय १० मिटर फराकिलो छ । यहाँबाट जहाज आवतजावत गर्न सक्छन् ।’
पुलको दुई ठाउँमा टावर राखिएका छन् । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा सात दशमलव पाँच मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उनले जानकारी दिए ।
सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । मूल्यअभिवृद्धि करसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको अधिकारीले जानकारी दिए । डिजाइनको काम करिब सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सात वर्षअघि आफू पहिलो पटक महानगर प्रमुखको उम्मेदवार हुँदा घोषणापत्रमा उल्लेख गरेर निरन्तर पहलकदमीपछि पुल निर्माण हुने अवस्थामा पुगेको बताए ।
महानगरले हरेक वर्षको नीति तथा कार्यक्रममा नारायणी नदीमा ‘सिग्नेचर’ पुल निर्माणका लागि पहल गर्ने उल्लेख गर्दै आएको भन्दै उनले यो नमुना ‘सिग्नेचर’ पुल भएको पनि स्पष्ट पारे ।
समयमा पुल निर्माण गर्न नसकेमा दीर्घकालीनरूपमा समस्या हुनसक्ने भएकाले आफूहरू निरन्तर लागेको उनको भनाइ छ । नारायणी नदीमा जलसँग सम्बन्धित पर्यटकीय गतिविधि गर्नका लागि पुलको डिजाइन नै तलको भाग फराकिलो बनाइएको भन्दै उनले नयाँ पुल बनेसँगै भरतपुरको विकासमा थप टेवा पुग्ने बताए ।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मञ्जिल मिश्रले तोकिएको समयमा गुणस्तरीय काम गर्न आफूहरू प्रतिबद्ध भएर सोहीअनुसार तयारी गरिएको बताए । भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाले आवश्यक सहजीकरण गरेका कारण कामलाई गति दिन सहज हुँदै आएको बताए ।
हाल भएको नारायणीको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको हालको पुल पुरानो र साँघुरो छ । यसैसँग जोडर उत्तरतर्फ नयाँ पुल निर्माण गर्न लागिएको हो ।