बीमा गराउनेको हिस्सा वागमतीमा ६७ प्रतिशत हुँदा कर्णालीमा जम्मा दुई प्रतिशत

Advertisement

काठमाडौं । बीमा समितिले महिला र पुरुषको आधारमा बीमा बजारको अवस्थाबारे अध्ययन सुरु गरेको छ । समितिले गरेको नयाँ अध्ययनबाट कुल जनसंख्याको ५५ प्रतिशत पुरुषले बीमा गराउँदा ४५ प्रतिशत महिलाले बीमा गराएका छन् । 

महिलाको यो संख्या अझै बढ्ने समितिको विश्वास छ । बीमित जति धेरै बढ्यो, त्यत्ति नै उनीहरुले पाउने बोनस पनि बढ्ने समितिको तर्क छ । 

Advertisement

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘अहिले हामीले महिला–पुरुषको बीमा अवस्था अध्ययन गरेका छौं, उक्त खोजबाट बीमा गराउनेको कुल संख्या अझै बढ्ने ठाउँहरु भेटिएका छन् । आगामी समयमा महिला र पुरुष दुवै तर्फका बीमित बढेमा उनीहरुले पाउने बोनस तथा प्रतिफल पनि बढ्छ ।’

उनले बीमाको प्रचार–प्रसारबाट मात्र नभई सम्बन्धित व्यक्ति आफैले बीमाको आवश्यकता महशुस गर्न थालेको र अहिले जबर्जस्तीभन्दा पनि स्वयच्छाले बीमा गराउनेहरु बढेको बताए ।  

पौडेलले थपे,‘ बीमा त जसरी पनि हुन्छ । एउटा किसिमको बीमा भनेको बीमा कम्पनी र अभिकर्ताहरुको करकापमा हुन्छ भने अर्को किसिमको बीमा भनेको बीमितले आफैले गर्न खोज्दा हुन्छ । अहिले बीमितले आफैले बीमा गराउन खोजेको र त्यस्ता खाले बीमा पनि बढेको हामीले पाएका छौं । त्यसैले अब फेरि महिला पुरुषको बीमाको अध्ययन गर्दा यसको संख्या धेरैले बढ्छ ।’

यस्तो छ तथ्यांक 
प्रदेश एकमा ३० प्रतिशत पुरुषले बीमा गराउँदा ७० प्रतिशत महिलाले बीमा गराएका छन् । त्यस्तै, मधेशमा ६४ प्रतिशत पुरुषले बीमा गराउँदा जम्मा ३६ प्रतिशत महिलाले बीमा गराएका छन् । 

बागमतीमा ६० प्रतिशत पुरुषले बीमा गराउँदा ४० प्रतिशत महिलाले बीमा गराएका छन् भने गण्डकीमा ४४ प्रतिशत पुरुषले बीमा गराउँदा ५६ प्रतिशत महिलाले बीमा गराएका छन् । लुम्बिनीमा ४२ प्रतिशत पुरुषले बीमा गराउँदा ५८ प्रतिशत महिलाले बीमा गराएका छन् । त्यस्तै, कर्णालीमा ५९ प्रतिशत पुरुषले बीमा गराउँदा जम्मा ४१ प्रतिशत महिलाले बीमा गराएका छन् । सुदूर पश्चिममा ४९ प्रतिशत पुरुषले बीमा गराउँदा ५१ प्रतिशत महिलाले बीमा गराएका छन् ।

यसैगरी, कुल जनसंख्याको आधारमा प्रदेश एकमा आठ प्रतिशत, मधेशमा पाँच प्रतिशत, बागमतीमा ६७ प्रतिशत, गण्डकीमा पाँच प्रतिशत, लुम्बिनीमा आठ प्रतिशत, कर्णालीमा दुई प्रतिशत र सुदूर पश्चिममा चार प्रतिशत बीमाको दायरामा छन् । यो अहिलेको अद्यावधिक तथ्यांक भएको समितिको भनाई छ । 

बीमा समितिले बीमाको पहुँच बिस्तारसँग जीवन बीमा गराउने बीमितको संख्या समेत बढिरहेको दाबी गरेको हो । समितिले आगामी दिनमा जति जीवन बीमा बढाउन सक्यो, त्यति धेरैमा बीमा चेतना बढ्ने, धेरै बीमाशुल्क आर्जन हुने, तथा बीमितहरुले बीमाबाट पाउने लाभ तथा बोनस पनि वृद्धि हुने बताएको छ । 

Advertisement

Advertisement