‘रंग’को पर्वमा रंग बिक्री हुन छोड्यो, ‘होली’ लेखेका टि–सर्टको भने राम्रो व्यापार

Advertisement

काठमाडौ । फागु पूर्णिमा अर्थात् होर्ली । फागु पूर्णिमालाई रंगको पर्वको रुपमा पनि चिनिन्छ । यस पर्वमा विगतमा रंगको व्यापार धेरै हुने गरेकोमा पछिल्ला बर्षहरुमा टि–सर्टको व्यापार बढेर गएको छ । 

रंगको व्यापार गर्नेहरुका लागि यो मुख्य सिजन पनि हो । तर यो बर्ष विगतमा जस्तो रंगको व्यापार हुननसक्दा असनका व्यापारीहरु निराश देखिन्छन् ।  रंगका थोक व्यापारी तिलबहादुर खड्काले होली आइसक्दा समेत आजसम्म रंग खोज्ने नगन्य मात्रै ग्राहक आएको बताए । उनले गएको वर्ष सात बोरा रंग बिक्री गरेकोमा यस बर्ष ठप्प प्रायः रहेको बताए । 

Advertisement

खड्काले भने, ‘गत वर्ष फागु पूर्णिमा आउनुभन्दा दुई दिन अघिसम्म मैले सात बोरा होलीको रंग बिक्री गरिसकेको थिए । विगतमा बर्षमा २० देखि २५ किलो रंग खरिद गर्ने ख्द्रा व्यापारीसमेत यस बर्ष आएका छैननन् । लाखौंको व्यापार हुन्थ्यो पहिला । अहिले मुलुकको आर्थिक स्थिति राम्रो नभएर पनि होला, व्यापार नै छैन् ।’

खड्काले एक किलोको रङको १६० मा बिक्री गर्ने गरेका छन् । कुनै समय दुई मिनी टाटा भरिका रंग बिक्री गरेका खड्काले विगतका बर्षमा जस्तो यो बर्ष होलीको रौनक नभएको बताए । 

असन क्षेत्रमा रङ व्यापार गर्ने अर्का व्यापारी हुन आशाकाजी श्रेष्ठ । गौशालाको थोक गोदामबाट रङ ल्याएर बिक्री गर्दै आएका उनले यस बर्ष १४० किलो रङ ल्याएकोमा एक किलो पनि बिक्री नभएको बताए । रङ खोज्ने व्यापारी नआउँदा चिन्तित देखिएका श्रेष्ठ गएको वर्ष होली आउने दुई–तीन दिनअघिसम्ममा तीन सय किलो रङ बिक्री गरिसकेका थिए । 

उनले भने, ‘पहिला पहिला त पसलमा मात्रै नभ्याएर फुटपाथमा समेत राखेर रंग बिक्री गर्नुपर्ने अवस्था आउँथ्यो । यस पटक त सबै गोदाममा थन्किएको छ । नयाँ मेयर आएपछि यस पटक त फुटपाथमा पनि राख्न दिँदैन् । रंग खोज्ने मान्छे पनि आउँदैन् ।’

रंगको व्यापार घटे पनि टि–सर्टको व्यापार भने यो बर्ष झन बढेको छ । जमलकी एक व्यापारी भन्छिन्, ‘यसअघिको होलीमा दुइ लाख रुपियाँको होली लेखेको टि–र्सट बेचेको थिएँ । यस बर्ष पनि राम्रो बिक्री भइरहेको छ । हेरौं कति जान्छ ।’ 

रंगले धेरै खालका असर गर्नसक्ने कुराहरु आएकाले र रंग खेलेपछि नुहाउनुपर्ने, त्यसका लागि काठमाडौंका सबै घरमा पानीको सुविधा पनि नभएकाले रंगमा भन्दा होली लेखेको टि–सर्टमा युवाहरुको आकर्षण बढेको हुनसक्छ भन्दै उनले होलीको दिनसम्म टि–र्सट खोज्ने ग्राहक आउने बताइन् । टेकाटेकीहरु पनि रंग दल्नेभन्दा टि–सर्ट लगाउन र लोला हान्न रमाउने चलन बढेको जमलकी व्यापारीको भनाई छ । 

Advertisement