आर्थिक मन्दीको प्रभाव व्यापारिक मलमा पनि, कतिपय बन्द

Advertisement

काठमाडौं । कोरोना महामारी र रुस–युक्रेन युद्धबाट सिर्जित आर्थिक मन्दीको प्रभाव व्यापारिक मलमा पनि परेको छ । विराटनगरमा पछिल्ला पाँच वर्षमा ठूलो लगानीमा सञ्चालनमा आएका केही व्यापारिक मल बन्द भएका छन् । 

हालै मात्र विराटनगर महानगरपालिका–८ हाटखोलामा सञ्चालित आरके सिटी सेन्टर बन्द भएको छ । २०७६ साल फागुनमा एक अर्ब २५ करोड रुपियाँ लगानीमा खुलेको उक्त मल सोमवारबाट पूर्ण रूपमा बन्द भएको हो । विश्वव्यापी आर्थिक मन्दी, असमान मूल्य र खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता भारतीय बजारमा आकर्षित हुँदा मल बन्द भएको हो । 

Advertisement

विश्वव्यापी आर्थिक मन्दी र सरकारको नीतिका कारण मलहरू बन्दको अवस्थामा पुगेको विराटनगरस्थित सेन्ट्रल मलका सञ्चालक प्रकाश मुन्दडा बताउँछन् । आर्थिक मन्दीका कारण उद्योग धन्दा धराशायी भइरहेको बताए । मुन्दडाले देशमा आर्थिक अवस्था गम्भीर रहेको बुझ्न सकिने बताए । 

यसअघि विराटनगरको पहिलो डिर्पाटमेण्ट स्टोर नेपाल बजार बन्द भएको थियो । नेपाल बजार अर्कै ठाउँबाट पुनः सञ्चालन गर्ने भनेर २०७६ साल जेठमा बन्द गरिएको थियो । तर अहिलेसम्म नेपाल बजार खुल्न सकेको छैन । २०७५ को नयाँ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी र सोही वर्षको फागुनबाट सञ्चालनमा आएको सेन्ट्रल बजार गरी अहिले विराटनगरमा दुई व्यापारिक मल सञ्चालनमा छन् । 

तर ती मलमा पनि पहिलेको तुलनामा उपभोक्ताको संख्या घटेको छ । विराटनगरस्थित भाटभटेनीका म्यानेजर पर्शुराम तिम्सिनाले शुरुवातको समयमा आउने ग्राहकको तुलनामा अहिले सरदर १० प्रतिशतको गिरावट आएको बताए । कस्टुमरहरु सपिङ मलमा गएर किन्नुपर्छ भन्ने धारणा नरहेका कारण पनि मलमा उपभोक्ता घटेको बताए । बोर्डरमा केही टाइट गर्ने हो भने नेपालकै मलमा उपभोक्ताहरु जाने दाबी गरे । 

आर्थिक मन्दीले गर्दा आम्दानी घटेपछि सर्वसाधारणको क्रयशक्तिमा पनि गिरावट आएको छ । जसले गर्दा उपभोक्ता सस्तो खोज्दै सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन् । विराटनगरमा भन्दा भारतमा सामानहरु सस्तो पर्ने भएकाले भारतबाटै सामानहरु किनेर ल्याउने गरेको बताए ।

कोरोना महामारीपछि आर्थिक गतिविधि चलायमान हुन नसक्दा सर्वसाधारणको आम्दानी घटेको र उनीहरू सुलभ मूल्यको पछि लागेका कारण मलहरू बन्द हुने अवस्थामा पुगेको अर्थविद् वेदराज आचार्यले बताए । उनले मानिसहरुसँग आम्दानी कम र किन्ने क्षमतामा कमी भएकाले मलहरुमा केही समस्या आइरहेको बताए । 

मानिसहरुले गुमाएको रोजगारी नपाउनु, आर्थिक अवस्था चलायमान नहुनु र लगानी गर्नेकुरामा नै उद्योगी र व्यवसायीहरु हच्किनुले पनि समस्या आएको आचार्यले बताए । नेपालमा राजनीतिमा पनि देश विकासमा भन्दा सत्ता टिकाउने प्रवृत्तिले निरन्तरता पाउँदा राम्रो वातावरण सिर्जना हुन नसकेको बताए ।

मलहरू धमाधम बन्द भइरहेको अवस्थामा विराटनगरमै अर्को मल सञ्चालनको तरखरमा छ । तीन अर्ब हाराहारीको लगानीमा सञ्चालनमा आउन आँटेको सेन्चुरियन मल निर्माणाधीन अवस्थामा छ । 

Advertisement

Advertisement