आइफोन बेच्दै आएको भिमसरिया ग्रुपले एक बर्षमै गर्यो साढे तीन अर्बको व्यापार

Advertisement

काठमाडौं । नेपालमा एप्पल ब्राण्डका ल्यापटप, आईप्याड र आईफोन बिक्री गर्ने कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालीले मुलुकको विषम आर्थिक अवस्थाका बीच पनि गएको एक बर्षमा तीन अर्ब ५७ करोड रुपियाँको व्यापार गरेको छ । 

महंगा मोबाइल आयात प्रतिबन्धका बीच पनि कम्पनीले राम्रो व्यापार गरेको हो । रेटिङ एजेन्सी इन्फमेरिक्सका अनुसार अंग्रेजी आर्थिक वर्ष २०२१–२०२२ मा तनि अर्ब ५७ करोड रुपियाँको व्यापार गरेको देखिएको हो । यस्तै सन् २०२०–२१ मा उसले एक अर्ब ९५ करोड रुपियाँको व्यापार गर्दा सन् २०१९–२० मा ९४ करोडको व्यापार गरेको थियो ।

Advertisement

कम्पनीले सन् २०१० देखि नेपालमा एप्पलका उत्पादन तथा यसका एसेसरिज बिक्री गर्दै आएको छ । कम्पनीका सञ्चालक पवन भिमसरिया हुन् । उनी ४० वर्षदेखि व्यापार क्षेत्रमा क्रियाशील छन् । भिमसरियाले पछिल्लो समयमा आफ्नो व्यापार विस्तारलाई तीब्रता दिएका छन् । यद्यपि कम्पनीका सञ्चालकहरुले भने यसअघि कर्पोरेट नेपालसँगको कुराकानीमा अधिकांश आईफोनहरु चोरीपैठारीबाट आउने गरेकाले आफूहरुले बिक्री गर्न नपाएको गुनासो गरेका थिए । उनीहरुले अबैध मोवाइलको चोरी नियन्त्रण गर्न र मोवाइलको सुरक्षाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले लागू गरेको मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कडाईका साथ लागू गर्नुपर्ने बताएका थिए । 

रेटिङ ऐजेन्सीका अनुसार जेनेरेसन नेक्स्टले वार्षिक राम्रो मुनाफा गर्दै आएको छ । विश्वकै ख्यातीप्राप्त ब्राण्डको बिक्री गर्ने भएकाले उसलाई एक अर्ब ८५ करोड रुपियाँ ऋण दिन कुनै पनि बैंक डराउनुनपर्ने एजेन्सीको विश्लेषण छ । 

साथै, उक्त कम्पनीले चर्चित ल्यापटप ब्राण्ड डेलको पनि आधिकारिक बिक्रेता लिएको छ । कम्पनीमा चालु पुँजी कर्जाका लागि ए फोर प्लसको रेटिङ पाएको छ । व्यापारबाट राम्रो मुनाफा हासिल गर्दै आएको भिमसरिया ग्रुपले उत्पादनमूलक उद्योग र घरजग्गामा समेत लगानी गरिसकेको छ । कम्पनीले आइफोन बिक्री गर्नका लागि देशभर २५ वटा डिलर विस्तार गरिसकेको छ भने डेल ल्यापटप बिक्री गर्न सय वटा डिलर खोलिसकेको छ ।   

Advertisement