गोबरबाटै गमला बनाउने गज्जबको व्यवसाय, अबको योजना घन्टी, दियो, मुर्ती बनाउने

Advertisement

काठमाडौं । मानिसहरुले जीवनयापन गर्ने क्रममा नवीन र फरक खालका पेशा, व्यवसाय गर्ने क्रम पछिल्लो समयमा देखिन थालेको छ । यस्तै फरक व्यवसाय गर्ने एक व्यवसायी हुन बारा, जितपुरका रामशरण दुवाडी । 

उनले गोबलबाट गमला बनाउने व्यवसाय गर्दै आएका छन् । ‘अर्गानिक गोबर गमला उद्योग’ सञ्चालन गर्दै आएका दुवाडीले विगत तीन वर्षदेखि गाईको गोबरबाट विभिन्न खाले गमला र प्राङ्गारिक (कम्पोष्ट) मल उत्पादन र बिक्री गर्दै आएका छन् । 

Advertisement

दुवाडीले १५ लाख रुपियाँ लगानीबाट यो उद्योग सुरु गरेका हुन् । उनी भन्छन्, ‘यो व्यवसाय मैले मेरो लागि मात्रै होइन्, छोराको लागि पनि सुरु गरेको व्यवसाय हो । छोरो इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्पोमा पढ्दैछ । नेपालमा रोजगारी पाउँदैन् । विदेश पठाउन मनले मान्दैन् । त्यही भएर छुटट्टै प्रकारको नयाँ व्यवसाय सुरु गरेको हो ।’ 

नेपालमा गोबर गमला उत्पादन गर्ने दुवाडी संभवतः पहिलो हुन् । उनले आफ्नो उद्योगबाट १२ प्रकारका गाईको मल र पाँच प्रकारका गोबर गमला उत्पादन गर्छन् । यस व्यवसायबाट दुवाडीले मासिक दुई लाख रुपियाँसम्म आम्दानी पनि गर्ने गरेका छन् । 

‘अर्गानिक गोबर गमला उद्योग’बाट उत्पादित गमला र मल हेटौंडा, धरान, इटहरी, पोखरा, मकवानपुर चितवन लगायत थुप्रै स्थानमा बिक्री हुने गरेको छ । दुवाडीको  राजधानीको पेप्सीकोलामा गमलाको गोदाम छ । गोदामबाट १५ वटा जति नर्सरीलाई मल र गमला बिक्री हुने गरेको छ । ग्राहकहरुको मागअनुसार अनलाइबाट अर्डर लिएर पनि सामान आपूर्ति गर्ने गरेको दुवाडीले सुनाए । काठमाडौंभित्र ग्राहकहरुले एक हजार भन्दा बढी सामान खरीद गरेमा ढुवानी शुल्क नलिने उनले बताए । यही वैशाखभित्र काठमाडौं, भत्तmपुर, ललितपुरका लागि गोबर गमलाको डिलर नियुक्त गर्ने दुवाडीको योजना पनि छ । 

उनका अनुसार घाम र पानीबाट अलग राख्दा गोबर गमला एक–डेढ वर्षसम्म टिकाउ हुन्छ । गमलामा पानी हाल्दा एक वर्षसम्म केही असर पर्दैन् । पाँच फिटबाट झर्दा पनि गमला नफुट्ने दावी गर्दै दुवाडीले गोबर गमलामा रोपेको बोट बिरुवा छिटै विकसित हुने, अरु कुनै प्रकारका मलको आवश्यकता नपर्ने बताए । 

घरमा प्रयोग हुँदै आएका प्यालास्टिकजन्य वस्तुहरुबाट आउने विकीरण र असरलाई गोबर गमलाले ७० प्रतिशत सोस्ने दावी गर्दै दुवाडीले गोबर गमला प्रयोग गर्दा मानव स्वास्थ्यलाई पनि लाभदायक हुने बताए । उनले गोबरबाट गमला तयार हुन छदेखि सात महिनासम्म समय लाग्ने पनि सुनाए । यस्ता गमलाको २५ रुयियाँदेखि सय रुपियाँसम्म मूल्य पर्छ । 

नेपालमा व्यवसाय गर्नभन्दा पनि उद्योग दर्ता गर्न र सरकारी विधि प्रक्रिया मिलाउन गाह्रो छ भन्दै व्यवसायी दुवाडीले गोबर गमला उत्पादनका लागि उद्योग दर्ता गर्न आएको भन्दै सरकारी कर्मचारीले नपत्याएर दर्ता गर्न नमानेको अनुभव सुनाए । उनले भने, ‘सरकार र सरकारी संयन्त्रले नवीन खालका उद्योग व्यवसायलाई प्रोत्साहन गर्नपर्छ भन्ने जानेकै छैन् । दुःख दिन चाहिं जानेको छ । किनभने यस्तो संयन्त्र प्रक्रियामुखी, बदनियतपूर्ण, भ्रष्ट खालको छ । सरकारी कर्मचारी देशमा उद्योगधन्दा खुलुन भन्नेभन्दा पनि आफूलाई फाइदा हुन्छ कि हुन्न भनेर पहिला हेर्ने खालको छ ।’ 

दुवाडीले गाई, भैंसीको गोबरबाट चप्पल, घन्टी, दियो, भगवानको मुर्ती, धुप जस्ता सामग्री उत्पादन गर्ने आफ्नो योजना रहेको सुनाए । 

Advertisement