एनसेलकी एक्टिङ सीटीओ लेना केशरी कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

Advertisement

काठमाडौं । नेपाल सरकारले एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ को महिला विधामा यो सम्मान प्रदान गरेको हो ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित विषेश समारोहमा प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचण्डले यो अवार्ड कंसाकारलाई वितरण गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र संवृद्ध नेपाल निर्माणको अभियानमा पुर्याएको विशिष्ट योगदानको उच्च मुल्याङ्कन गर्दै एक लाख नगद सहित यो पुरस्कार प्रदान गरिएको हो ।

Advertisement

इन्जिनियरिङ क्षेत्रमा करियर सुरु गरेपछि कंसाकार सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रुपमा एनसेलमा जोडिएकी थिइन र अहिले उनी १४० बढि प्राविधिक कर्मचारीहरुको टोलीलाई नेतृत्व गर्दै एनसेलको एक्टिङ सीटीओको रुपमा कार्यरत छिन् । असिस्टेन्ट इन्जिनियर, इन्जिनियर, एक्जिक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुदै अहिले उनी एक्टिङ सीटीओको उच्च पदमा नेतृत्व गरिरहेकी छिन् । एनसेलमा प्राविधिक क्षेत्रको उच्च पदमा पुग्ने कंसाकार पहिलो नेपाली महिला हुन् । 

एनसेलमा कार्यरत रही उनले टुजी, थ्रिजी, फोरजीको व्यापक विस्तार लगायत विभिन्न महत्वपुर्ण काम गरेकी छिन् । कंसाकारले ग्रामिण क्षेत्रमा दुरसञ्चारको पहुच, भीओएलटीई सेवा विस्तार, डेटा सेन्टर स्थापना लगायतका दर्जनौ प्रोजेक्टहरुको लागि नेतृत्व लिएर कार्य गरेकी छिन् ।

काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक, जर्मनीबाट इन्फरमेशन एण्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नाकोत्तर र पोखरा विश्व विद्यालयबाट इएमबिए अध्ययन गरेकी कंसाकारले आफ्नो पेशा र क्षेत्रमा लगनशील रहि एनसेललाई देशको एक प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा स्थापित गराउँन अतुलनिय योगदान दिएकी छिन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा अन्य विभिन्न विधामा पनि पुरस्कार प्रदान गरेको थियो । प्युठानका डा. शैलेन्द्र गिरी नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानि भएका छन् । वान प्वाइन्ट फाईनान्सियल सर्भिसेज्ले नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४ पुरस्कार जितेको छ ।

त्यसैगरी मोनाल टेक ‘नेसनल आइसिटी स्टार्टअप अवार्ड २०२४’ बाट सम्मानित भएको छ । सामाजिक सुरक्षा कोषले नेसनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्राप्त गरेको छ भने प्राईभेट सेक्टरमा डेटा हब यो पुरस्कारबाट सम्मानित भएको छ । प्रदेशस्तरबाट नीजि क्षेत्रको डाइनामिक टेक्नोसफ्टले नेसनल आइसिटी अवार्ड २०२४ जितेको छ । 
 

Advertisement

Advertisement