दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ गर्दा पनि तालिका दिइएन्ः व्यवसायी

लोडसेडिङ बढेपछि ‘विद्युत आतंक रोक’ भन्दै पूर्वका व्यवसायी सडकमा उत्रिए

Advertisement

काठमाडौं । अनियमित विद्युत आपूर्ति, ट्रिपिङ, लो भोल्टेजको समस्याबाट आजित भएका पूर्वका उद्योगी व्यवसायी नेपाल विद्युत प्राधिकरणविरुद्ध सडकमा उत्रिएका छन् । 

औद्योगिक करिडोर क्षेत्रका उद्योगीहरूले अघोषित चर्को लोडसेडिङका कारण आफूहरु उद्योग चलाउन नसक्ने अवस्थामा पुगेको भन्दै आजबाट आन्दोलन समेत थालेका हुन् । मोरङ व्यापार संघको आव्हानमा भएको विरोध कार्यक्रममा कालो ब्यानरसहित सहभागी उद्योगी व्यवसायीले ‘विद्युत आतंकविरुद्ध’ आन्दोलन सुरु गरेको बताएका थिए । 

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य भएको दावी गर्दै आए पनि लामो समयदेखि काठमाडौं बाहिर अघोषितरुपमा लोडसेडिङको समस्या रहँदै आएको थियो । काठमाडौंमा लोडसेडिङ गर्दा चाँडै आलोचित हुने र लोडसेडिङ मुक्त नेपाल बनाएको आफ्नो दावी असफल साबित हुने डरले घिसिङले सकेसम्म राजधानीमा विद्युत आपूर्ति नियमित गर्ने प्रयास गर्दै आएका छन् । तर राजधानी बाहिर भने विशेषगरी औद्योगिक क्षेत्रका व्यवसायीले भने विद्युत आपूर्तिको समस्या भोग्दै आएका छन् । 

पूर्वका औद्योगिक क्षेत्रमा अहिले १२ घन्टासम्म लोडसेडिङ भइरहेको छ। औद्योगिक करिडोर क्षेत्रमा प्राधिकरणले करिब एक महिनादेखि बिजुली कटौती गर्दै आएको छ । उद्योगी अनिल शारदाले अरू सबैतिर बिजुली नियमित जस्तै भए पनि उद्योगहरुमा भने चर्को लोडसेडिङ गरिएको बताउँदै आर्थिक मन्दी, चर्को बैंकको ब्याजदर जस्ता समस्याबाट पीडित उद्योगी व्यवसायीहरु लोडसेडिङले अर्को पीडा थपेको बताए । 

व्यवसायीले यदि लोडसेडिङ नै गर्नुपरे पनि लोडसेडिङ तालिका निकाल्ने सल्लाह दिएका छन् । शारदाले लोडसेडिङ तालिका माग्दा पनि प्राधिकरणले दिन नमानेको बताए । उनले भने, ‘बत्ति नआउने तालिका दिए मजदुरलाई छुट्टी दिएर बन्द गरिदिन हुन्थ्यो ।’ गत पुसदेखि नै उद्योगमा नियमित बिजुली छैन् । 

Advertisement

Advertisement