मौद्रिक नीतिको समीक्षाले बैंकहरुको नाफा पाँच अर्ब ६५ करोड थपिने

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाका कारण बैंक तथा वित्तीय संस्थाहरुको आम्दानी अर्थात् नाफा पाँच अर्ब ६५ करोड रुपियाँ थपिने देखिएको छ । 

राष्ट्र बैंकले शुक्रबारले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै असल कर्जामा गर्नुपर्ने नोक्सानी व्यवस्था (प्रोभिजनिङ’लाई १.२५ प्रतिशतबाट १.२० प्रतिशतमा कायम गर्ने घोषणा गरेको छ । 

Advertisement

यसैगरि, हायर पर्चेज प्रकृतिको सवारी कर्जामा राख्नुपर्ने जोखिमभार पनि १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा सिमित राख्ने नीति ल्याएको छ । त्यो नीतिसमेत कार्यान्वयनमा आएमा बैंकहरुको नाफामा पाँच अर्ब ६५ करोड रुपियाँले बढ्ने देखिएको हो । यो नीति कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्नुपर्छ । 

असल कर्जामा राख्नुपर्ने प्रोभिजनिङ दर ०.०५ प्रतिशत विन्दु घटाउँदा बैंकहरुको नाफामा दुई अर्ब १५ करोड रुपियाँसम्मको रकम थप हुने राष्ट्र बैंकका एक अधिकारीले बताए । यसअघि बैंकहरुले १.२५ प्रतिशतको दरमा यस्तो प्रोभिजनिङ गरेका छन् । अहिले त्यसलाई १.२० प्रतिशतमा कायम गर्दा पहिला प्रोभिजनीङ गरेको रकमबाट दुई अर्ब १५ करोड रुपियाँ रकम निस्कने अनुमान गरिएको छ । 

यसैगरि हायर पर्चेज प्रकृतिको सवारी कर्जामा राख्नुपर्ने जोखिमभार २५ प्रतिशत विन्दुले घटाउँदा बैंकहरुलाई तीन अर्ब ५० करोड रुपियाँ हारहारीमा राहत हुने कार्यकारी निर्देशन गुरुप्रसाद पौडेलले बताए । मौद्रिक नीति समीक्षा लगत्तै राष्ट्र बैंकले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

पौडेलले भने, ‘अहिले बैंकहरुमा हायर प्रर्चेज प्रकृतिको सवारी कर्जाको बक्यौता (आउटस्टान्डिङ) १५ अर्ब रुपियाँ छ । त्यो अवस्थामा जोखिम भार २५ प्रतिशत विन्दुले घटाउँदा साढे तीन अर्ब रुपियाँ रकम निस्कने देखिन्छ । यो नीतिले बैंकहरुको वित्तीय अवस्था सुदृढ हुने अपेक्षा छ ।’

Advertisement

Advertisement