काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि.को आर्थिक वर्ष २०७५–७६ देखिको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले विशेष कर चुहावटको क्षेत्र पहिचान गरेर चार आर्थिक वर्षको लेखापरीक्षण सुरु गरेको हो ।
उक्त कम्पनीअन्तर्गत नौ वटा कम्पनीहरु रहेका छन् । ती कम्पनीले पेश गरेका कारोबार शंकास्पद देखिएपछि ‘फुल अडिट’ सुरु गरिएको कार्यालयले यसअघि जानकारी दिएको थियो ।
एफवान सफ्टको कर परीक्षण गराउन आन्तरिक राजस्व विभागले नै जोखिमका क्षेत्र पत्ता लगाएर परीक्षण गर्न भनी पठाएको थियो । विभाग स्रोतले भन्यो, ‘एफवान सफ्टको आर्थिक वर्ष २०७५–७६ देखिको कर विवरण हेर्न भनेका छौं । गम्भीर प्रकारको छली भेटिए सो भन्दा अघिको विवरणको समेत छानविन हुनेछ । कैफियत भेटिएको अवस्थामा पूरानो फाइल पनि झिकेर कार्यालयले हेर्छ ।’
एफवान सफ्टको अहिले आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) दुवै शीर्षकमा भएको कर छली कार्यालयले चेकजाँच थालेको छ । विभागले विशेषगरी एफवान सफ्टको सहायक कम्पनी ई–सेवाको कारोबारलाई लक्षित गरेर कर परीक्षण सुरु गरेको हो । ई–सेवाले कम्पनीको आम्दानी धेरै बढाउने लोभमा वान एक्स बेटसँग मिलेमतो गरी अवैध अनलाइन बेटिङ (जुवा) खेलाउने गरेको देखिएपछि अनुसन्धान अधि बढाइएको हो ।
विभागले अवैध बेटिङमार्फत भएको भुक्तानी र आयमा अध्ययन गर्न कार्यालयलाई निर्देशन दिएको हो । यदि कुनै व्यक्तिले बेटिङमा लगातार कारोबार गर्ने र रकम जित्ने शंकास्पद कारोबारको अध्ययन गरिने छ । नेपालमा गैरकानुनी रुपमा सञ्चालन भएको बेटिङले अनौपचारिक रुपमा ई–सेवालाई एजेन्टको रुपमा नियुक्त गरेको छ । सोबाट प्राप्त आयलाई कर विवरणमा कसरी समावेश गरिएको छ ? सोको विस्तृत अध्ययन ठूला करदाता कार्यालयले गर्नेछ । अवैध बेटिङलाई सहयोग पुर्याएर गरिने अनधिकृत आयलाई कार्यालयले जफत गरी बिगो अशुल गर्नसक्नेछ ।
एफवान सफ्टले गत आर्थिक वर्ष २०७८–७९ मा १५ अर्ब ६६ करोडको कारोबार गरेको थियो । ‍यस्तै चालु वर्षको पहिलो ६ महिनामा नै ७ अर्ब २ करोड रुपियाँको कारोबार गरिसकेको छ ।
प्राविधि र वित्तीय कारोबारका क्षेत्रमा आक्रामकरुपमा आएको यो कम्पनीले चाँडै धेरै नाफा गरेर माथि पुग्ने लोभमा अवैध अनलाइन बेटिङलाई सहयोग गर्दा विवादित बन्न पुगेको छ ।
यो पनि पढ्नुहोस्:
छ महिनामै सात अर्बको व्यापार गर्दै ‘टप टेन’मा पर्न एफवान सफ्ट सफल, कसरी ?
ई–सेवाको माउ कम्पनी एफवान सफ्टको फाइल ‘फुल अडिट’मा, कारोबार शंकास्पद
ईसेवा, खल्ती जस्ता वालेटहरु अवैध अनलाइन जुवा कारोबारमा संलग्न रहेको खुलासा (प्रमाणसहित)