हिरोको आधिकारिक बिक्रेता ज्योति समूहको एनजीएमलाई नै दिने हिरो मोटोकर्पको निर्णय

Advertisement

काठमाडौं । ज्योति समूहसँग सम्वन्ध विच्छेद गर्ने पूर्वनिर्णयबाट हिरो मोटोकर्प, इण्डिया पछि हटेको छ । नेपालमा लामो समयदेखि हिरो ब्राण्डका दुई पांग्रे सवारी साधनहरुको आधिकारिक बिक्रेता रहेको ज्योति समूहसँग व्यवसायिक सम्वन्ध चिस्सिएपछि हिरो मोटोकर्पले एकपक्षीयरुपमा सम्वन्ध विच्छेदको पत्र पठाएको थियो । 

नेपालमा ज्योति समूहअन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम) प्राइभेट लिमिटेडले हिरो मोटोकर्पको आधिकारिक बिक्रेताको रुपमा हिरो ब्राण्डका मोटरसाइकल र स्कुटरहरु बिक्री गर्दै आएको छ । 

Advertisement

यच्च अदालत पाटनको आदेशपछि थप दुई बर्षका लागि एनजीएमलाई आधिकारिक बिक्रेता कायम राखे पनि हिरोले आफ्ना थप उत्पादनहरु नेपालमा नपठाउँदा अन्योलता कायम रहँदै आएको थियो । उक्त अन्योलता तोड्दै हिरो मोर्टकर्पको सञ्चालक समितिले ज्योति समूहसँग नै आगामी व्यवसायिक सम्वन्ध कायम राख्ने निर्णयमा पुगेको स्रोतको भनाई छ । 

स्रोतका अनुसार एक दिनभित्र हिरो मोटोकर्पले एनजीएमलाई पत्र पठाउने छ । अन्योलताको बीचमा नेपालका कतिपय अटोमोवाइल कम्पनीले हिरोको एजेन्सी (आधिकारिक बिक्रेता) पाउने हल्ला चलेको थियो । चौधरी समूह, सिप्रदी समूहले ज्योति समूहसँगको सम्वन्धका कारण पनि हिरोको एजेन्सी लिन अस्वीकार गरेका थिए । यस्तो एजेन्सी लिने प्रयास गरेका अरु कतिपय कम्पनीलाई भने हिरोले पत्याउन सकेको थिएन् । 

ज्योति समूहले नेपालमै हिरोका उत्पादनहरु थाल्ने भनेर झण्डै ४० करोड रुपियाँ लगानीमा एसेम्लिङ प्लान्टसमेत निर्माण गरिसकेको छ । हिरोको बिक्री तथा सर्भिस सेन्टरको नेटवर्क बनाउन ज्योति समूहले अरु झण्डै चार अर्ब लगानी गरेको छ । यति ठूलो लगानी र पूर्वाधार अलपत्र पारेर हिरो मोटोकर्पले सम्वन्ध विच्छेद गर्न खोजेपछि ज्योति समूह चिन्तत रहँदै आएको थियो । तर नेपालमा हिरो ब्राण्डका उत्पादन बिक्री गर्न ज्योति समूहको विकल्प खोज्दा व्यवसायमा फाइदा भन्दा नोक्सानी बढी हुने देखेपछि हिरो मोटोकर्पले ज्योति समूहसँगै काम गर्ने निष्कर्षमा पुगेको हुनसक्ने अनुमान गरिएको छ । 

नेपालमा अटोमोवाइल उद्योगको विकासको सुरुवातका लागि एसेम्लिङ प्लान्ट राख्न नेपाली उद्योगीहरुलाई सरकारले दिएको सहुलियत आफूले पाउनुपर्ने भन्दै हिरोले बार्गेनिङ गरेपछि दुई समूहबीच कुरा मिल्न सकेको थिएन् । सोही विवादका कायम रहँदा हिरोले एनजीएमसँगको आधिकारिकता अन्त्य भएको घोषणा गरेको थियो । 

हिरोको निर्णयविरुद्ध एनजीएम अदालत गएको थियो । उच्च अदालतले यसरी सम्वन्ध तोड्दा ज्योति समूहलाई ठूलो नोक्सान हुने भएकाले आधिकारिक बिक्रेता कायम नरहनेसम्वन्धी हिरो मोटोकर्पले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । दुवै पक्षबीच विवाद समाधानका लागि प्रयास हुँदै आए पनि समाधान हुन नसक्दा अन्योलता कायम रहेको थियो । 

हिरो मोटोकर्पको पछिल्लो निर्णयले ज्योति समूहलाई केही राहत मिलेको छ । यद्यपि अझै आफूहरुले पत्र पाइनसकेको सो समूहको भनाई छ । अहिलेसम्म एनजीएमले स्टकमा रहेका मोटरसाइकल तथा स्कुटरहरु बिक्री गर्दै आएको थियो । कोरोना महामारीको समयमा समेत आकर्षक संख्यामा दुई पांग्रे सवारी साधन बिक्री गरेर हिरोका लागि उदाहरणीय बनेको एनजीएमको एजेन्सी खोस्न नेपालकै कतिपय व्यवसायी लाग्दा समस्या सिर्जना भएको थियो । 

अटोमोवाइल क्षेत्रमा चार दशक लामो अनुभव रहेको ज्योति समूह हिरो होण्डा ब्राण्ड टुक्रिएसँगै सोही समूहअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले होण्डा र एनजीएमले हिरोका दुई पांग्रे सवारी साधनहरु बिक्री गर्दै आएको छ । एनजीएमले हिरोका मोटरसाइकल र स्कुटर बिक्री गर्न थालेको डेढ दशक भइसकेको छ । 

Advertisement

Advertisement