नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने विश्व बैंकको प्रक्षेपण

Advertisement

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले यस बर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने बताए पनि विश्व बैंकले निकै कम प्रक्षेपण गरेको हो । 

कोरोना महामारी आदि कारणले गएको आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि १ दशमलव ९ प्रतिशत मात्रै भएको थियो । यस बर्ष भने आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति विस्तारै खुकुलो बन्दै गएकाले आर्थिक वृद्धिदरमा सुधार आउनसक्ने विश्व बैंकको मंगलबार सार्वजनिक प्रतिवेदनमा औंल्याइएको छ । 

Advertisement

चालु आर्थिक वर्षमा कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य मात्रै भए पनि सेवा क्षेत्रको वृद्धि सन्तोषजनक हुने बताउँदै विश्व बैंकले कृषि क्षेत्रको वृद्धि २ दशमलव १ प्रतिशत र उद्योगको वृद्धिदर ३ दशमलव २ प्रतिशत हुने अनुमान गरेको छ । त्यस्तै, सेवा क्षेत्रको वृद्धि दर ५ दशमलव १ प्रतिशत हुने उसको अनुमान छ । लम्पिस्किन रोगका कारण पशुपालन क्षेत्रमा असर परेकाले कृषि क्षेत्रको वृद्धिदरमा असर पर्नसक्ने विश्व बैंकको भनाई छ । 

साथै, बैंकले मनसुनका कारणका कृषि उत्पादनमा गिरावट आउनसक्ने, मूल्यवृद्धि उच्च हुनसक्ने, तथा भारतले निर्यातमा गरेको कडाईका कारण नेपालमा वस्तुको अभाव र भाउ बढ्नसक्ने औंल्याएको छ । यस बर्ष आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम भए पनि अर्को आर्थिक बर्षमा भने यस्तो वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको अनुमान छ । 

Advertisement

Advertisement