हङकङबाट फेरि १६५ पिस ‘ब्रेक सु’ आएपछि केहीबेर हंगामा, एक्सरेले सुन पनि देखायो, तर....

Advertisement

काठमाडौं । हङकङबाट एक कम्पनीले सोमबार ‘ब्रेक सु’ ल्याएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा केहीबेर हंगामा मच्चिएको छ । उक्त कम्पनीले १६५ वटा ‘ब्रेक सु’ हङकङबाटै आएपछि भन्सार जाँचपासमा खटिएका कर्मचारीहरु झस्किएका हुन् ।

यसअघि गत साउन २ गते हङकङबाट ल्याइएको १५५ किलो ‘बै्रक सु’भित्र सुन लुकाएर ल्याएको पाइएपछि ठूलो चर्चा र चासोको विषय बनेको थियो । त्यसबेला विमानस्थलको कडा सुरक्षा व्यवस्था र कडा भन्सार पाँचपास छलेर ठूलो परिमाणमा सुन बाहिरिएपछि भन्सारका केही कर्मचारीसहित सुन तस्करीमा संलग्नहरुलाई कारवाही अघि बढाइएको छ । 

Advertisement

सोही समयदेखि जाँचपासमा सतर्क बनेका विमानस्थल भन्सार कार्यालयका कर्मचारी आज पनि सोही ढंगबाट ‘ब्रेक सु’ आएपछि झस्किएका हुन् । एक कम्पनीले ल्याएको उक्त सामान भन्सार जाँचपासका लागि एक्सरे मेसिनमा हालियो । मेसिनमा हाल्नासाथै सुन देखिएपछि भन्सारका कर्मचारीमाझ मात्रै नभएर विमानस्थलका अन्य कर्मचारीहरुबीच पनि खैलाबैला सुरु भयो । शंका लागेर ‘ब्रेक सु’को प्याकेट खोलेर हेर्दा भने सुन भेटिएन् । 

जाँचपासमा सहभागी एक कर्मचारीले कर्पोरेट नेपालसँग भने’ ‘ब्रेक सु’लाई एक्सरे मेसिनमा हाल्दा स्पष्ट सुन जस्तो देखियो । त्यसपछि हामी पनि सुन फेरि ल्याएछ भनेर सतर्क भयौं । थप चेकजाँच गर्नुपर्यो भने खोलेर हेर्दा सुन रहेनछ ।’  

सुनको शंका लागेपछि जाँचपास अधिकारीले कार्यालय प्रमुख डा. टोकराज पाण्डेलाई समेत खबर गरेका थिए । त्यसपछि कार्यालयका उच्च अधिकारीहरु बसेर ‘ब्रेक सु’को परीक्षण गरियो । ‘ब्रेक सु’ खप्टिएको अवस्थामा बढी गाढा देखिएकोले सुन जस्तो देखिएको ती कर्मचारीको भनाई छ । 

उनका अनुसार एक्सरे मेसिनले सामानको घनत्वका आधारमा सुन हो वा अन्य वस्तु हो ? निर्क्योल गर्ने गर्छ । एक्सरे मेसिनमा विशेष ‘रे’ ले सामानलाई जाँच गर्ने गर्छ । सुनको घनत्व बढी हुने भएकाले ‘रे’ सुनको वारपार गर्न सक्दैन् । यसकारण एक्सरे मेसिनले सुन गाढा देखाउने गर्छ । सुनभन्दा गाढा हिरालाई देखाउने गर्छ । 

ती कर्मचारीले थपे, ‘विमानस्थल भन्सारबाट गाडी तथा मोटरसाइकलको कहिलेकाहीं ‘ब्रेक सु’ आउने गर्छ । यस्ता सामान खप्टिएको अवस्थामा गाढा रंगको देखिन्छ भने नखप्टिएको अवस्थामा हल्का निलो रंगको देखिने गर्छ ।’ विमानस्थल भन्सारबाट गाडी तथा गाडीका पार्टपुर्जा आउने कुरा नौलो नभएको उनले बताए । 

आज ल्याइएको ‘ब्रेक सु’ सुन नभएको पुष्टी भए पनि  सामान जाँचपासमा खटिएका कर्मचारीहरुमा भने डर उत्पन्न भएको कार्यालयको भनाई छ । यसअघि पनि साउन २ को घटनाको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धेरै निगरानी गर्ने र सोधपुछ गरेर आफूहरुलाई आतंकित बनाएको अवस्थामा फेरि हङकङबाट ‘ब्रेक सु’ आउनु र चेकजाँच गर्दा सुन जस्तै गाढा देखिँदा फेरि प्रकरणमा सास्ती खेप्नुपर्ने हो कि ? भन्ने चिन्ता कर्मचारीहरुमा देखिएको कार्यालयको तर्क छ ।  

साउन २ गते बरामत भएको ‘ब्रेक सु’भित्र सय किलोभन्दा धेरै सुन भनिए पनि पछि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सुन छुट्टाएर गाल्दा ६०.७१६ किलो मात्रै यकिन गरिएको थियो । उक्त प्रकरणपछि छानविनका क्रममा सीआईबीले मानिसक तनाव दिएको भन्दै त्रिवि भन्सारका सबै कर्मचारीहरुले सामुयिक सरुवाको माग गरेका थिए । 

त्रिवि भन्सार कार्यालयमा जान सरुवा माग्ने कर्मचारी नै नभेटेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । उनले भने, ‘साउन २ को घटनापछि कर्मचारीको मनोबल खस्किएको छ । कुनै पनि कर्मचारी त्रिवि भन्सार जान मानेका छैनन् । बरु सबैले सरुवा माग्ने गरेका छन् । हामीले ‘इमान्दारिताका साथ काम गर्नु’ भनेर उनीहरुलाई आश्वस्त गराएर काम गराइरहेका छौं ।’ 

ब्रेक सु खप्टिएको अवस्थामा एक्सरे रिपोर्ट

undefined

undefined

नखप्टिएको अवस्थाको एक्सरे रिपोर्ट स्रोत; भन्सार विभाग

 

Advertisement

Advertisement