‘अहिलेको गृहकार्यले अबको दुई वर्षमा नै शिखर इन्स्योरेन्सलाई एउटा गज्जबकै गियरमा दौडाईरहेको हुन्छ, त्यो चाहिँ पक्का छ’

फरक ‘वर्किङ कल्चर’ जसले बनायो शिखर इन्स्योरेन्सलाई ‘नम्बर वान’

Advertisement

शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेसँग बीमा क्षेत्रमा काम गरेको तीन दशकभन्दा लामो अनुभव छ । निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सलाई अब्बल बनाउन पनि उनको अहम भूमिका छ । बीमा बजारमा नौला किसिमका बीमा उत्पादन ल्याएर बीमितहरुको आवश्यकता पूरा गन आफ्नो व्यवस्थापनमा रहेको बीमा कम्पनी सफल भएकोमा पाण्डे गर्व गर्छन् । बीमक संघ नेपालको समेत नेतृत्व गरिसकेका उनले शिखर इन्स्योरन्सलाई अब कसरी अघि बढाउँदैछन् ? कर्पोरेट नेपालकर्मी नविन पोखरेलले गरेको कुराकानीः 

तपाइँको बीमा क्षेत्रको यात्रा कसरी आरम्भ भएको थियो ?
निकै चाख लाग्दो प्रश्न उठाउनु भयो । मैले बीमा क्षेत्रमा प्रवेश गरेको तीन दशक भइसक्यो । बीमामा लाग्नुअघि मेरो घरमा विवाहको कुरा चलेको थियो । बिहेको कुरा चल्दा मेरो कुनै जागिर थिएन् । नेपाली चलनअनुसार जागिर नभई विवाह नगर्नु भन्ने भनाईहरु पनि छ । त्यस्तै संयोग मलाई पनि मिले जस्तै लाग्छ । ससुराली जाँदा जागिर सोधे भने के भन्ने ? ममा प्रश्न उठ्ने गर्थ्यो । त्यही क्रममा मेरो जागिर पनि भयो । मैले तत्कालिन एभरेष्ट इन्स्योरेन्समा ‘फाइनान्स म्यानेजर’ (अर्थ व्यवस्थापक) पदबाट बीमा क्षेत्रको यात्रा सुरु गरेको हो । त्यतिबेला मैले चार्टर्ड एकान्टेन्सी (सीए) अध्ययन गरिरहेको थिए । एभेरेष्ट इन्स्योरेन्समा काम गर्दा नयाँ नयाँ बीमा कम्पनीहरु आएकाले कर्मचारीहरु यताउता जाने र लाने होडबाजी थियो । एभरेष्ट इन्स्योरेन्सका शैलेन्द्र श्रेष्ठ त्यति बेला डीजीएम (उपमहाप्रवन्धक) हुनुहुन्थ्यो । त्यति बेलामा दूरदर्शी चेयरम्यान (अध्यक्ष) मोहनगोपाल खेतान हुनुहुन्थ्यो । डीजीएम शैलेन्द्र सरले कम्पनी छोडेपछि नयाँ मान्छे ल्याउनुभन्दा यहीं काम गरिरहेको दीपलाई अवसर दिनुपर्छ भन्नुभयो चेयरम्यान सरले  । मैले बीमा क्षेत्रको अनुभव पनि विस्तार बढाउँदै जाने मौका पाएँ । बीमा क्षेत्रमा काम गरेको तेस्रो वर्षमा नै एक्टिङ (कार्यबहाक) सीईओ जसरी काम गर्न थालेको थिए । एभरेष्ट इन्स्योरेन्समा मैले आठ वर्ष काम गरेर छोडेको हो । छोडदा एभरेष्ट इन्स्योरेन्स बीमा क्षेत्रको एक नम्बरकै कम्पनीको रुपमा स्थापित भईसकेको थियो । मलाई कम्पनीको स्वामित्व लिने र कम्पनीको नेतृत्व गर्ने कुरा फरक हो जस्तो लाग्यो । त्यसले गर्दा नै म कामै गर्ने हिसाबले शिखर इन्स्योरेन्समा आवद्ध भएको थिएँ । अहिलेसम्म काम गरिरहेको छु । 
 
बीमा क्षेत्रको यात्रा आरम्भ गर्दा र अहिले यही क्षेत्रमा लामो अनुभव हाँसिल गरिसकेपछि फर्केर हेर्दा तपाइँले के कस्ता अन्तर पाउनु हुन्छ ?
त्यो बेला सुरुवाती चरणमा बीमा गर्ने भनेको एउटा औपचारिकता पूरा गर्नको लागि मात्रै थियो । बीमाको आवश्यकता बुझेर निकै कमै मात्रामा बीमा हुन्थ्यो । त्यति बेला प्राविधिक टिम हावी थियो किनभने अरुले बीमा बुझ्ने मौका पाएका थिएनन् । अब अहिलेको बजारको कुरा गर्दा मार्केटिङ (बजारीकरण) टिम हावी छ । यसको मतलब मैले मार्केटिङको आवश्यकता छैन् भन्न खोजेको होइन् तर अहिले मार्केटिङकै कारण पनि बीमा शहर केन्द्रीत त छैन् नि । मैले बीमामा सुरु गर्दा बीमा कम्पनीहरुले जम्मा १० वटा शाखा खोले भने त्यो निकै ठूलो कुरा हुन्थ्यो । पहिले बीमा बुझेका अन्डरराइटिङ टिमले बीमा बजार कब्जा गरेका थिए भने अहिले मार्केटिङले मात्रै बीमा चल्ने अवस्था आएको छ । अहिले बीमा कम्पनीहरुले दशबाट बढाएर सय भन्दा धेरै शाखा बिस्तार गरेका छन् । विगतमा बीमा कम्पनीहरुको निकै सानो क्यापिटल (पुँजी) थियो । जोखिम बहन गर्ने क्षमता पनि कम थियो भने खर्च गर्न सक्ने अवस्था पनि कम थियो । त्यस्ता कुराले बजार बिस्तार गर्ने क्षमता पनि बढाउन सकेको थिएन् । अब अहिले तपाइँहरुले हेर्नु भयो भने ती चिजहरुमा त धेरै सुधार भइसकेको छ । अहिले क्यापिटल बढ्यो । कम्पनीको क्षमता बढ्यो । साँच्चै भन्दा पहिलेको भन्दा बीमा बजारमा फरकपन छाएको अवस्था छ । 

Advertisement

बीमा क्षेत्रमा आफ्ना कोही अग्रज, आफन्त लागेको देखेर प्रवेश गर्नु भएको हो कि अरु केही कुराबाट प्रभावित भएर लाग्नुभएको हो ? 
मैले आफ्नै बिहे (विवाह)को चक्करमा कुनै जागिर त खानैपर्छ भन्ने लागेर अकस्मात बीमा क्षेत्रमा जोडिएको हो । पछि विस्तारै यसमा म भिज्दै गएँ । अझै पनि भन्छु म बीमा भनेको एउटा चुनौतीपूर्ण र अवसरले भएको पेशा हो । यस्तो किनभनेको भने जहाँ चुनौती छ, त्यहाँ अवसर पक्कै पनि जोडिएकै हुन्छ । 

विदेशिने युवाहरुलाई बीमा क्षेत्रले रोक्न किन सकेन ? के लाग्छ तपाइँलाई ?
हाम्रोमा केही फरक भएर पनि होला । तपाइँले बाहिरका देशहरुमा हेर्ने हो भने त बैंक र बीमामा काम गर्ने मान्छेहरु समान हुन्छन् । युवा पलायन हुने अहिलेको समस्या छ । पहिले बैंकहरुले पनि ठूला र धनी मान्छेहरु तानेरै व्यवसाय गरेकै अवस्था त थियो । यी कुराहरु भनेको बजारमा पहुँच बिस्तार भएसँगै मिल्दै जाने कुरा हुन कि जस्तो पनि देखिन्छ । अब त बीमा पनि बैंकको लेवल (तह)मा पुग्न लागिसकेको अवस्था छ । बैंक भन्दा बीमा त धेरै प्राविधिक विषय हो है । बीमाले सीए, सर्भेयर, अभिकर्ता, स्वास्थ्यकर्मी लगायत कैयौं क्षेत्र पनि छोएको हुन्छ । यसमा एउटै कुरा भनेको नागरिकले पाउने सेवा सुविधा भने गुणस्तरीय ढंगबाट दिनुपर्छ । बीमा क्षेत्रले पनि राम्रै अवसर दिएको अवस्था छ भने यहाँ कमाई राम्रै हुने अवस्था सिर्जना भइसकेको छ । 

कुनै पनि बीमा कम्पनी साच्चै बलियो छ भन्ने आधार चाहिँ के हुनसक्छ ? 
सिम्पल कुरा, दाबी तिर्नुपर्ने रहेछ । सानो क्यापिटल भएका कम्पनीले धेरै प्रोफिट (नाफा) देखाउन थाल्यो भने त केही सम्झौता गर्नुपर्ने हुनसक्ला । तर, बीमा कम्पनीहरुले त्यस्तो गर्नु हुँदैन । दाबी समयमा तिर्नुपर्छ । बीमितले पाउने सुविधामा ढिलाई गर्नु भएन् । एक पटक बीमितको विश्वास जित्यो भने त यहाँहरुले आफै बीमाको मार्केटिङ गर्नु हुन्छ नि । गाईको बीमालाई नै हेरौं त । पल्ला घरे साईलाको गाई मरेको थियो । फेरि नयाँ किनेर ल्याएछ । उसले कहाँबाट पैसा ल्याएछ ? भन्दा बीमाले पो दिएको रहेछ त । यसरी हुन्छ बीमाको सक्कली मार्केटिङ । अहिलेसम्म शिखर इन्स्योरेन्सले पनि गरिहरेको पनि त्यही हो । 

अहिले बीमा कम्पनीहरुले दाबी भुक्तानी दिएको कुरालाई बढी प्रचार गर्न थालेको देखिन्छ नि । तपाइँलाई यो कस्तो लाग्छ ?
बीमा कम्पनीहरुले दाबी भुक्तानी तिरे भनेर प्रचार गर्ने विषय होइन । यो त आफै देखिने कुरा हो । वि.स. २०७२ को विनाशकारी भूकम्पमा बीमा कम्पनीहरुले सक्दो दावी तिरेका थिए । त्यति बेला कुनै प्रचार गर्नु जरुरी परेको थिएन । बीमाले पैसा दिन्छ भन्ने आफै प्रचार भएको थियो । बीमाले वैधानिक रुपमा कागजपत्र ठिक भएको ठाउँमा पैसा दिन्छ । ठिक छैन भने पैसा रोक्छ । दिने ठाउँमा चाहिँ ढिलो नगरौं, सक्दो छिटो दिनुपर्छ भन्ने कुरा हुनसक्छ । पहिले तेस्रो पक्षमा नआउनु, एउटा गाडीले मान्छे हान्दा राजमार्ग बन्द हुन्थ्यो । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट भाषणबाट तेस्रो पक्ष बीमालाई अनिवार्य गरेसँगै त्यसको लाभ त अहिले जनताले नै पाइरहेको अवस्था छ । भूकम्पको समयमा शेयर बजार लामो समय खस्किएको थियो भने बीमाले त आफ्नो पैसा तिरेकै हो । त्यही कारणले पनि होला चौथो नम्बरमा रहेको शिखर इन्स्योरेन्स भूकम्पपछि पहिलो नम्बरमा आउन सफल भयो । एक अर्ब १७ करोड रुपियाँ त शिखर इन्स्योरेन्स कम्पनीले एक्लैले भुक्तानी गरेको थियो । बजारबाट बीमा कम्पनीले उठाउने बीमाशुल्क बढ्दो क्रममा नै छ । यस्तो हुनुको कारण भनेको बीमा कम्पनीहरुले गरिबहरुको दाबी समयमा नै तिरेकाले हो । 

दाबी समयमा तिर्दा बीमाशुल्क बढ्छ भन्नुभयो । बीमितको दावी रोक्दा चाहिँ कम्पनीलाई ‘व्याकफायर’ गर्छ कि गर्दैन ? 
त्यो त अवश्य गर्छ । अनि यस्तो हुन्छ भन्ने कुरा बीमा कम्पनीको तर्फबाट हेर्ने हो भने चाहिँ उनीहरुले समयमा नै दाबी दिने कुरामा धेरै चनाखो हुनुपर्छ । असजिलो बनाउनु भयो, ढिलो दाबी तिर्नु भयो दाबी दिनै कुनै कन्जुस्याईं गरियो भने त सिधै ‘ब्याकफायर’ (प्रतिउत्पादक) हुन्छ । 

शिखर इन्स्योरेन्समा पनि त ‘पेण्डिङ क्लेम’ होलान् । कुनै पनि बीमा कम्पनीमा त्यस्तो अवस्था किन आउँछ ? 
शिखर इन्स्योरेन्सकै सोधिहाल्नु भयो । हाम्रोमा त दाबी तिर्न मात्रै अनुभवी ५० जना कर्मचारी छन् । यस्तै उहाँहरुलाई सघाउने कर्मचारीहरु त अरु थुप्रै छन् । यति बुझ्नुस कि प्रत्येक वर्ष सर्भेयरहरुलाई राखेर तपाइँहरुको समस्या के छ ? भनेर सोध्ने नेपाली बीमा बजारमा एक मात्र कम्पनी शिखर इन्स्योरेन्स मात्रै हो । हामीले सर्भेयरलाई पनि छात्रवृत्ति दिएका छौं । सर्भेयरले शिखर इन्स्योरेन्समा आउँदा यो कम्पनीलाई आफ्नै कम्पनी ठान्छन् । यदी कसैले काम गर्न चाहान्छन् भने उनीहरुलाई वातावरण दिने काम हामीले गर्छौं । काम गर्नेले पनि आफ्नै कम्पनी ठान्ने वातावरण बन्छ ।

सर्भेयरलाई छलफलको अवसर दिँदा उहाँहरुलाई शिखरप्रतिको अपनत्व झल्किने वातावरण बनेको हो र ?
फेरि त्यस्तो पनि होइन । बीमा क्षेत्रप्रति उहाँहरुको कामको लगावले गर्दा बीमाप्रतिको अपनत्व बढ्ने भन्ने मैले भन्न खोजेको हो । यसरी कामप्रतिको लगाव बढ्दा शिखर इन्स्योरेन्सलाई मात्र नभई समग्र बीमा क्षेत्रलाई नै लाभ पुग्छ । मैल सर्भेयर शिखरको भन्न खोजेको होइन् । उहाँहरु स्वतन्त्र हुनुहुन्छ । तै पनि उहाँहरुले शिखरमा काम गर्दा दाबी भुक्तानीलाई तीब्रता दिएकै अवस्था छ । यो हाम्रो ‘वर्किङ कल्चर’ले गर्दा पनि होला । 

अहिले बीमा कम्पनीहरु मर्जरमा गइसकेको अवस्थामा शिखर इन्स्योरेन्स पूरानै गतिमा हिड्छ वा ‘गियर’ बढाउनुपर्ने दबाब सिर्जना भएको छ ? 
हामी एउटा लामो दौडमा छौं । लामो दौडमा केही थाक्न पनि सक्छन । थाक्नु स्वभाविक पनि हो । हामी केही थाकेका थियौं । त्यति बेलामा मर्जर कुरा आयो । मर्जरले अरु कम्पनीलाई हाम्रो नजिक बनाएको पक्कै हो । मर्जरले बनाएको त्यति मात्रै हो । हाम्रो नजिक आउँदा कतिपय कम्पनीहरुलाई निकै ठूलो लाभ भएजस्तो लाग्या छ । तर, शिखर इन्स्योरेन्सले पनि आफ्नो गति घटाएको छैन् । हामी आफ्नै ‘रेस’मा छौं । अरुले चुक्ता पुँजी र कर्मचारीहरु जोडेका मात्र हुन् । तपाइँहरु सम्झिनुस् त यो बजारमा दाबी कसरी तिर्ने ? भनेर सिकाउने पनि शिखर इन्स्योरेन्स हो । बजार बिस्तार गर्नेदेखि ठूलो क्यापिटलले ‘रिटेन्सन’ बढाउने भन्ने शिखर इन्स्योरेन्स हो । सिकाएको त होनी । यसमा त कसैको दुईमत छैन् । अरुले सिके मात्रै । म गौरवका साथ भन्छु हामीले बीमा बजारलाई जे दिएका छौं, त्यो त अरुले पछ्याएको मात्रै हो ।

भनेपछि बजार परिदृश्य परिवर्तन भएको बेलामा पनि शिखर इन्स्योरेन्स चाहिँ आफ्नो पूरानै गतिमा हिडिरहन्छ ? 
फेरि त्यस्तो पनि होइन । शिखर इन्स्योरेन्सले दूरदर्शी नजर लगाउँछ । यो मर्जर हुने आँकलन त हाम्रो बोर्डले आजभन्दा चार वर्ष अघि गरिसकेको थियो । 

प्रतिस्पर्धाको दौडमा दौडिँदा शिखर इन्स्योरेन्सलाई ‘गियर’ परिवर्तन नगरे पनि कसैले उछिन्दैन भन्ने यहाँहरुको सोच हो र ? 
कहिलेकाहीं ‘गियर’ फेर्नुपर्ला । हिँडेपछि एउटै गियरमा चलाउने बाटो पनि त नहुनसक्छ । कहिलेकाहीं एक–दुई गियरमा हिँडिरहेको मान्छे आठ–नौ गियर लगायर दौडिरहेको पनि देख्नुभएकै होला । प्रतिस्पर्धामा खरो उत्रिन हामी पनि च्याम्पियन छौं । माहिर नै छौं । धेरै पटक गियर तलमाथि गरेको हामीसँग पनि थुप्रै अनुभवहरु छन् । त्यसैले यो हाम्रो लागि नौलो कुरा होइन । अरु कम्पनीबारे मैले केही पनि बोल्दिन् । शिखरको हकमा त हामीले बीमालेखको विविधिकरण गरेका छौं । विविधिकरण गर्नु भनेको बीमा कम्पनीहरुको लागि राम्रो कुरा हो । हामीले शाखाहरु थपेकै अवस्था छ । अहिलेको गृहकार्यले तपाइँले भन्याजस्तो अबको दुई वर्षमा नै शिखर इन्स्योरेन्सलाई एउटा गज्जबकै गियरमा दौडाईरहेको हुन्छ । त्यो चाहिँ पक्का छ । 

आर्थिक मन्दीको असर बीमा क्षेत्रमा कत्तिको देखिएको छ ? तपाइँहरु कत्तिको प्रभावित हुनुभएको छ ? 
आर्थिक मन्दीले अर्थतन्त्रलाई नै हानेको छ । यसले बीमालाई मात्रै भनेर प्रहार गरेको अवस्था छैन् । मन्दी भयो भनेर बीमा प्रभावित भएको भन्दा पनि मन्दीले देशको आर्थिक अवस्था संकुचन गर्दा कता कता बीमा पनि अब अछुतो चाहिँ छैन है भन्ने अवस्था हो । 

लघुबीमा कम्पनीहरु तपाइँहरुको साथी हुन कि कट्टर प्रतिस्पर्धी हुन् ? 
यसमा त दुवै हुन । लघुबीमा दुवैले गर्ने हुँदा साथी हुन् । फेरि एउटै व्यवसायमा जोडिनुपर्ने कार्यप्रकृतिले त लघुबीमा हाम्रा प्रतिस्पर्धी पनि हुन् । यसमा लघुबीमा आफैमा अन्तर्राष्ट्रिय अभ्यास हो । नेपालमा पनि त्यही अवधारणा ल्याइएको हो । अब त्यस्तो अवधारणा कत्तिको सफल हुन्छ ? भन्ने त समयले पनि बताउला । जसरी हाम्रो दैनिक जीवनमा तपाइँलाई कही जानु छ भने जाममा अकिने भन्दा पनि वैकल्पिक बाटो खोज्ने त हो । त्यस्तै बीमाको व्यवसायलाई कतैबाट प्रभाव पार्यो भने त्यसमा बीमा कम्पनीले पनि विकल्प सोच्छ । हामीले पनि गर्ने त्यही नै हो ।

नेपाल बीमा प्राधिकरणले पूराना बीमा कम्पनीहरुले लघुबीमा व्यवसाय गर्न सकेन भन्ने आरोप लागाउँदै आएको छ नि ?
अरु बीमा कम्पनीहरुको हकमा होला । हाम्रो कम्पनीमा त गत आर्थिक वर्षमा पाँच अर्ब २५ करोड रुपियाँ कुल व्यवसायमा हामीले झण्डै ५८ करोड रुपियाँ बराबरको लघुबीमा गरेका छौं । यो भनेको हाम्रो व्यवसायको करिब १० प्रतिशत व्यवसाय लघुबीमाले धानेको छ । बीमा प्राधिकरणले पुराना कम्पनीसँग गरेको अपेक्षा पनि त्यति नै थियो । अब तपाइँको प्रश्नअनुसार शिखर इन्स्योरेन्सलाई त्यो आरोप लाग्दैन । 

लघुबीमा व्यवसाय शिखर इन्स्योरेन्समा धेरै छ भन्ने तपाइँ दाबी गर्न सक्नु हुन्छ ?
किन सक्दिन त ? हाम्रो देखिहाल्नु भयो त ‘फिगर’ । 

त्यसो भए लघुबीमा कम्पनीहरु खडा गर्दा सबैभन्दा धेरै घाटा पनि त तपाइँहरुलाई नै गर्ने देखियो नि ?
लघुबीमा कम्पनीले हामीलाई सहयोग नै गर्छन । किनभने हामीले पहिले लघुबीमा सुरु गरेको हो भने कैयौंको दाबी भुक्तानी तिरेर विश्वास जितिसकेको अवस्था छ । नयाँ लघुबीमा कम्पनीहरु भर्खर बजार बिस्तारमा लागेको अवस्था छ । गाउँमा चल्न खुलेका कम्पनीहरुलाई हामी जत्तिको ‘रिटेन्सन’ भएको कम्पनीहरु प्रतिस्पर्धा हुन्छ भन्ने तपाइँहरुकै आँकलन चाही नमिल्ला । हामीले त कहिले पनि लघुबीमा कम्पनीहरुले ठूला बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न आएको हो भनेको सुनेका छैनौ । 

एउटै बजारमा, एउटै प्रकृतिको व्यवसाय गर्दा व्यवसाय खोसाखोस त अवश्य हुने भयो त ?
ए, नविन जी ! २० वटा निर्जीवन बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गरेर अबल्ल उत्रिएको शिखर इन्स्योरेन्सलाई लघुबीमा कम्पनी आयो भनेर नअत्याउनुस् । हामी व्यवसाय घट्ला भनेर आत्तिने कम्पनीमा पर्दैनौ । दाबी तिर्ने क्षमता बनाएर बसेका बीमा कम्पनीलाई बजारको परिस्थीतिले धेरै प्रभाव पार्दैन । अहिलेसम्म शिखर इन्स्योरेन्सले कमाएको पनि त्यही हो । 

अब अन्त्यमा, शिखर इन्स्योरेन्समा नै किन बीमा गर्ने ?
शिखर इन्स्योरेन्स बीमा क्षेत्रमा विरासत बोकेर बसेको कम्पनी हो । धेरै वटा कुरामा अन्य कम्पनीहरुलाई समय सान्दर्भिक नेतृत्व समेत गर्दै आएको कम्पनी हो । अझ भनौ शिखर इन्स्योरेन्स त आजको दिनसम्म अधिकांश सूचकमा अब्बल कम्पनी हो । यस्तो हुनुको कारण भनेकै बीमितहरुको विश्वास हो । बीमितको विश्वास कुनै पनि कम्पनीले कमाउँछ भने त्यसको पछाडी त उसले समयमा दाबी तिरेको कारण नै मुख्य हुनजान्छ । हामी सुशासनमा विश्वास गर्ने कम्पनी हौं । बीमा बजारलाई जति धेरै निकायले कडाई गर्दै जान्छ, त्यसको सबैभन्दा धेरै लाभ शिखर इन्स्योरेन्सलाई हुन्छ । बजारमा केही ‘प्लेयर’हरु अवस्थ रहेको खबरहरु पनि आउने गर्छन् । त्यस्ता कार्यले बीमा व्यवसाय र जनविश्वास घटाउँछ । शिखर इन्स्योरेन्स जनविश्वास जित्दै आएको र तपाइँहरुको आफ्नै कम्पनी जस्तो भएकाले बीमा गर्नको लागि यो उपयुक्त ठहरिँदै आएको छ । अहिले हेर्नु भयो भने नेपालमा नाम चलेका घरानाहरु, ठूला भनिएका बैंक, होटल, अस्पताल, हवाई जहाज सबैको बीमा हाम्रोमा छ । किनकी हामीसँग समयमै त्यसको दाबी भुक्तानी तिर्ने क्षमता पनि छ । कुनै पनि बीमितले बीमा गर्नुअघि हेर्ने भनेको त बीमा कम्पनीको अवस्था हो र त्यो अवस्थामा शिखर इन्स्योरेन्स आजको दिनमा नम्बर वानमा  छ । हामीले नयाँ नयाँ प्रोडक्ट ल्याएका छौं । प्रविधिमैत्री सेवालाई जोड दिँदै आएका छौं । अझ भनौ हाम्रो डेटा हेर्नु भयो भने पनि पुगिहाल्छ । नियामकले निर्धारण गरेको चुक्ता पुँजी हाम्रो पुगिसकेको छ । हामीसँग सबैभन्दा बढी महाविपत्ति कोष छ । अरुले जम्मा एक अर्ब रुपियाँ बराबरको महाविपत्ति फण्ड बनाउन मुस्किल पर्दा शिखर इन्स्योरेन्सले आठ अर्ब रुपियाँ भन्दा धेरैको कोष बनाईसकेको छ । यो आधारमा हेर्दा भूकम्प आयो भने शिखर  इन्स्योरेन्सले अन्य कुनै दोस्रो कम्पनी भन्दा आठ गुणा चाँडो र भरपर्दो रुपमा दाबी तिर्न सक्छ । पहिले पनि अरुले काजगपत्रमा अल्झाउँदा भूकम्प गएको १४ दिनभित्र हामीले दाबी भुक्तानी दिन सुरु गरेका थियौं । यो कुरा आम नागरिक र बीमितहरुले बुझ्दै आउनुभएको कुरा पनि हो । 

Advertisement

Advertisement